Matra Education आइतबार, साउन १० २०८३

सातौँ प्याब्सक अन्तरविद्यालय फुटसल प्रतियोगिता मङ्सिर २० गते देखि

सातौँ प्याब्सक अन्तरविद्यालय फुटसल प्रतियोगिता मङ्सिर २० गते देखि

  • मात्र एजुकेशन
  • आइतबार, मंसिर १८ २०७९


काठमाडौँ- निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले सातौँ प्याब्सक अन्तरविद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराइएको हो । मङ्सिर २० र २१ गते गरी दुई दिन सञ्चालन हुने उक्त प्रतियोगितामा ३२ विद्यालयको सहभागिता रहने बताइएको छ। प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयका कक्षा १० सम्मका छात्रहरूले प्रतिस्पर्धा गर्नेछन्।

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सकका महासचिव राजन श्रेष्ठले २०६१ सालमा स्थापित भएर प्याब्सकले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापका गतिविधिहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले विद्यार्थीको समग्र उन्नयन र शिक्षक शिक्षिका तथा कर्मचारीहरू समेतको व्यवसायिक दक्षता विकासमा संस्थाले अहम् भूमिका खेलेको बताए । फुटबलको महासङ्ग्राम (विश्वकप) चलिरहेकै बेला आयोजित यस पटकको प्याब्सक फुटसल प्रतियोगिता अझै रोचक हुने उनको भनाई थियो।

प्याब्सकका कार्यसमिति सदस्य तथा फुटसल प्रतियोगिता संयोजक राजु पुडासैनीले सातौँ संस्करणको फुटसल प्रतियोगितालाई अझै मर्यादित बनाउने प्रयास गरिएको उल्लेख गरे। उनले हरेक कार्यक्रमहरू निष्पक्ष र पारदर्शी बनाउने कुरामा सधैँ सचेत रहेको संस्थाले त्यसलाई अझै विश्वसनीय बनाउनका लागि यस पटक संस्थाका सदस्य विद्यालयहरू बिच मात्रै प्रतिस्पर्धा गराउन लागेको जानकारी दिए। विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा विकास गर्ने विभिन्न कार्यक्रमहरू मध्य एक कार्यक्रम यो पनि भएको हुँदा आफूले सबै सदस्य विद्यालय बाट उत्तिकै सक्रिय साथ सहयोगको अपेक्षा गरेको उनले बताए। नकआउट (एक खेल हार्ने बित्तिकै प्रतियोगिताबाट बाहिरिने) प्रणालीमा खेलाइने प्रतियोगितामा विजयी खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमशः प्रथमलाई १००००, द्वितीयलाई ५००० र तृतीयलाई ३००० नगद पुरस्कार प्रदान गरिने घोषणा उनले गरे।

पत्रकार सम्मेलनमा पत्रकारहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्याब्सकका अध्यक्ष गेन्द्र लामाले प्रतियोगितामा सहभागी विद्यालयले प्रवेश शुल्क बापत रु ३००० बुझाउनुपर्ने र चाबहिल चुच्चेपाटि स्थित भाटभटेनी फुटसल ग्राउन्डमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म खेलहरू सञ्चालन हुने बताए। उनले प्रतियोगितालाई विगतका संस्करणहरू जस्तै भव्य सफल बनाउन सम्बद्ध सबै पक्षको साथ सहयोगका लागि आग्रह पनि गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड