Matra Education आइतबार, साउन १० २०८३

३ दिने रिलायन्स कलेज मोडल युनाइटेड नेसन सुरु

३ दिने रिलायन्स कलेज मोडल युनाइटेड नेसन सुरु

  • रमेश लामिछाने
  • शुक्रबार, मंसिर १६ २०७९


काठमाडौँ- चाबहिल स्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको आयोजनामा ३ दिने रिलायन्स कलेज मोडल युनाइटेड नेसन (रेकोमुन-२.०) सुरु भएको छ। शुक्रवार कलेज परिसरमा आयोजित एक औपचारिक कार्यक्रम बिच समारोहको उद्घाटन भए सँगै रेकोमुन-२.० विधिवत् रूपमा सुरु भएको हो। पठन पाठन सँगै अतिरिक्त क्रियाकलापहरूलाई पनि विशेष जोड दिँदै आएको रिलायन्सले आगामी १९ गतेसम्म चल्ने कार्यक्रम मार्फत पनि आफ्ना विद्यार्थीहरूको व्यक्तित्व विकास हुने विश्वास लिएको छ। उपत्यकाका ३ जिल्लाबाट प्रतिनिधित्व गरी आउने कक्षा ८ देखि १२ सम्मका करिब २०० कूटनीतिक प्रतिनिधिहरूले संयुक्त रास्ट्रसंघका ७ वटा समितिहरू मार्फत विभिन्न एजेन्डाहरूमा छलफल/अन्तरक्रिया गरी अन्तिम निष्कर्ष दिने आयोजकले जनाएको छ। रेकोमुन-२.० रिलायन्स साहित्यिक क्लबको सक्रियतामा आयोजना भएको कार्यक्रम हो।

रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा कलेज प्रिन्सिपल रवीन्द्र जंग थापाको अध्यक्षता तथा परराष्ट्रविद् डा दिनेश भट्टराईको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सम्पन्न भएको हो। विशेष अतिथिका रूपमा ‘युएन हाउस’ का एड्रिन मोरिस रहेको उक्त सत्रमा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तिहरू अतिथिका रूपमा रहेका थिए भने रिलायन्सका सञ्चालक, शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रिलायन्स कलेजका सह प्रधानाध्यापक नन्दु कुशवाहले उपस्थित सबै अतिथिलाई कार्यक्रममा स्वागत गर्न पाउँदा आफू हर्षित भएको उल्लेख गरे । फरक फरक राष्ट्रको प्रतिनिधित्व गर्ने र फरक फरक पृष्ठभूमिमा रहेर आएकाहरूले यो ३ दिने कार्यक्रममा समकालीन समयमा अन्तर्राष्ट्रिय सम्बन्ध र यसमा देखिएका समस्याहरू आदिका बारेमा घनिभूत छलफल गरी निष्कर्ष निकाल्ने हुँदा कार्यक्रम अर्थपूर्ण बन्ने उनको विश्वास थियो । संयुक्त रास्ट्रसंघ र मोडल युनाइटेड नेसनको इतिहास प्रस्तुत गरेका उनले सक्रिय सदस्यका रूपमा सबै प्रतिनिधिले आफूलाई प्रस्तुत गर्नेमा आशावादी रहेको उल्लेख गरे।

रिलायन्स साहित्यिक क्लबका अध्यक्ष सुवास बोहराले अथक प्रयास पछि कार्यक्रम सम्पन्न गर्न लागिएको भन्दै खुसी व्यक्त गरे। उनले रेकोमुनलाई सुन्दर गन्तव्यका बारे सिकाउने अनवरत यात्राका रूपमा आफूले लिएको भन्दै यो सुनौलो अवसरको सदुपयोग गर्न सबैलाई आग्रह गरे।

रिलायन्स कलेजका प्रिन्सिपल रवीन्द्र जंग थापाले भव्य र अर्थपूर्ण कार्यक्रम आयोजना गरेकोमा इसिए, सिसिए कमिटी र साहित्यिक क्लबलाई धन्यवाद दिए। उनले स्थानीय तह, देश र विश्वमा विभिन्न समस्याहरू विद्यमान रहेको र मानव कुनै न कुनै समस्या बाट पीडित भएको उल्लेख गर्दै यस किसिमका कार्यक्रमहरूले त्यस्ता समस्याहरू बारे छलफल गर्ने र समाधानको उपाय दिने बताए। नेतृत्व ज्ञानको जननी भएको हुँदा सञ्चार, समझदारी लगायतका गुणहरू विकास गर्दै आफूलाई एक असल नेतृत्वकर्ताका रूपमा प्रस्तुत गर्नका लागि तयार रहन उनले उपस्थित विद्यार्थीलाई आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि भट्टराईले उपस्थित हुने अवसर दिएकोमा प्रिन्सिपल र आयोजकलाई धन्यवाद दिए । यस्तो महत्त्वपूर्ण विषयमा प्लस टु तहदेखि नै चासो देखाउनु खुसीको कुरा भएको उनको भनाइ थियो । युएन आफैँमा एउटा विश्व विद्यालय भएको भन्दै उनले यसको इतिहास, स्थापनाको पृष्ठभूमि, गरेका कार्यहरू लगायत विविध विषयमा चर्चा गरे। नेपालको संविधानले पनि युएनको सिद्धान्त अवलम्बन गरेको र हाम्रो संस्कारमै पनि पञ्चशीलको सिद्धान्त पर्ने हुँदा नेपालले सधैँ विश्व शान्तिको लागि प्रयास गरिरहेको उनको भनाई थियो। अघिल्लो शताब्दीमा भएका दुई ठुला युद्धको प्रसंग उल्लेख गर्दै उनले त्यसपछि विश्वका नेतृत्वकर्ताहरू एकै ठाउँ उभिएर संयुक्त राष्ट्रसंघको गठन गरेको स्मरण गरे। विश्वको साझा समस्या समाधानका लागि विश्व स्तरकै समाधान चाहिने भन्दै उनले सोही कारण युएनको विकल्प नभएको र विकल्प भनेको अझै प्रभावकारी युएननै भएको भनाई राखे। रेकोमुन-२.० लाई शुभकामना दिँदै उनले कार्यक्रमले आफ्नो प्रस्ट भिजन सहित अगाडि बढ्न सक्ने नेतृत्व छनोटमा जोड दिने विश्वास आफूले लिएको बताए।

संयुक्त राष्ट्रसंघको प्रतिविम्ब स्वरूप आयोजना हुँदै गरेको यो कार्यक्रम मङ्सिर १९ गते सुकेधारास्थित मिराकल पार्टी भेन्युमा समापन हुनेछ। कार्यक्रम पश्चात् विश्व भाइचारा, विश्व शान्ति, सद्भाव अभिवृद्धि लगायत सर्वजन हितायको उद्देश्य प्राप्त हुने आयोजकको विश्वास छ।

तपाईँ यहाँ क्लिक गरेर उद्घाटन सत्रका केही तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड