काठमाडौं- यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा विजय प्राप्त गरेका उम्मेदवारहरु हेर्दा संसदमा स्नातक र स्नातकोत्तर गरेकाहरुको उल्लेख्य सहभागिता देखिन्छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रबाट १५४ क्षेत्रको मत परिणाम आउँदासम्म स्नातक ५२ र स्नातकोत्तर ४७ गरी ९९ जना निर्वाचित भएका छन् । जसमा विद्यावारिधि (पीएचडी) गरेकाहरु ५ जना छन् । उच्च शिक्षा हासिल गर्नेको संख्या प्रत्यक्षबाट निर्वाचित सांसद संख्याको करिब दुई तिहाइ हो । सबै क्षेत्रको नतिजा र समानुपातिक पद्धतिबाट सांसद निर्वाचित भएपछि यो प्रतिशतमा हेरफेर हुन सक्नेछ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित हुनेछन् । समानुपातिकतर्फको मत गणना भइरहेकाले यो पद्धतिबाट को सांसद निर्वाचित हुन्छन् भन्ने टुंगो छैन ।
पहिलो पटक संसद प्रवेश गरेका सांसदद्वय चन्द्रकान्त राउत (सीके) र वीरेन्द्रप्रसाद महतो पीएचडी हुन् । सप्तरी २ बाट निर्वाचित राउत जनमत पार्टीका अध्यक्ष हुन् भने सिरहा ४ बाट निर्वाचित महतो जसपाका नेता हुन् । उदयपुर १ बाट निर्वाचित डा. नारायण खड्का र सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंह पनि पीएचडी हुन् । परराष्ट्रमन्त्रीसमेत रहेका खड्का २०७४ सालमा पनि यही क्षेत्रबाट निर्वाचित थिए । ०७४ मा कांग्रेसबाट चुनाव जितेका सिंहलाई यसपटक कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका थिए ।
गुल्मी १ बाट चुनाव जितेका कांग्रेसका चन्द्रकान्त भण्डारी पीएचडी उपाधि प्राप्त हुन् ।
निर्वाचन आयोगमा बुझाएको शैक्षिक योग्यता विवरण अनुसार प्रत्यक्षतर्फ निर्वाचित १५४ मध्ये प्रविणता प्रमाणपत्र तह पास गरेकाहरु (डिप्लोमा र प्लसटु) २० जना छन् । एसएसली पास गरेकाहरु १८ जना छन् । एसएसली भन्दा कम पढेकाहरु ७ जना र आफ्नो शैक्षिक योग्यता खुलाउन नचाहेकाहरु ६ जना छन् । नेपालमा हाल १२ कक्षासम्मलाई माध्यमिक शिक्षा मानिन्छ भने त्यसभन्दा माथिको शैक्षिक योग्यतालाई उच्च शिक्षा मानिन्छ ।
अर्थात, नेपालको संसदमा अझै यस्ता व्यक्तिहरु पुगिरहेका छन् जो सँग एसएलसी उत्तीर्ण गरेको प्रमाण पत्र पनि छैन ।