काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले दक्ष शिक्षक उत्पादनका लागि लाइब्रेरी विकास तालिम सुरु गरेको छ। सोमबार अक्सब्रिज ललितपुरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच तालिम उद्घाटन भएको हो। एक महिना सम्म चल्ने तालिममा लाइब्रेरी विकास फोरमका अध्यक्ष यज्ञ राज भट्टले तालिम दिने प्याब्सनले जनाएको छ। गत साउन महिनामा फोरम सँग प्याब्सनले करिब ५००० विद्यालयका शिक्षकहरूलाई लाइब्रेरी विकास तालिम दिन गरेको सम्झौता अनुरूप तालिम सुरु भएको हो।
ललितपुर प्याब्सनका अध्यक्ष निरोज महर्जनको सभापतित्व तथा केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा तालिम विभाग संयोजक कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल र सचिव रविन्स शर्मा विशेष अतिथिका रूपमा रहेका थिए प्याब्सनका सदस्य विद्यालय प्रतिनिधिहरू तथा शिक्षक/ शिक्षिकाहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन ललितपुर प्याब्सनका सचिव सुन्दर श्रेष्ठले गरेका थिए।
१ महिने तालिममा लाइब्रेरीको अर्थपूर्ण सञ्चालन र विद्यालयमा यसको प्रभावकारी प्रयोग बारे सिप सिकाइने आयोजकको भनाइ छ। विद्यालयका प्रत्येक शिक्षकमा लाइब्रेरीको ज्ञान भएमा मात्र शिक्षण सिकाइ प्रभावकारी बनाउन सकिने हुँदा त्यही प्रयोजनका लागि तालिम सञ्चालन गरिएको केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा तालिम विभाग संयोजक कृष्ण अधिकारी बताउँछन्। तालिम अवधिभर अनलाइन र अफलाइन लाइब्रेरी सञ्चालनको विषयमा प्रशिक्षार्थीहरूले ज्ञान लिने उनले बताए।
कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सचिव रबिन्स शर्माले लाइब्रेरीको विकास बिना कुनै पनि शैक्षिक संस्था र देश विकासको कल्पना गर्न नसकिने उल्लेख गरे। उनले प्याब्सनले सुरु गरेको यो अभियान देशभर फैलने र त्यसले समग्र देशको शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यस्तै प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवालले शैक्षिक रूपान्तरणका लागि प्याब्सनले काम गर्दै आएको र त्यसैको निरन्तरता स्वरूप विभिन्न संस्थाहरू सँग साझेदारी गर्दै तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनले तालिम व्यवहारिक बन्न सकोस् र अपेक्षित नतिजा हासिल होस् भन्ने शुभकामना पनि व्यक्त गरे। प्याब्सनले एकेडेमीक एक्सिलेन्सका लागि काम गर्न खोजिरहेको उनको भनाइ थियो।
लाइब्रेरी विकास फोरमका अध्यक्ष यज्ञराज भट्टले नेपाली शिक्षा प्रणाली परीक्षा मुखी मात्रै भएको र ज्ञान सिप अनि पढ्ने बानीको विकास हुन नसकेको धारणा राखे। अन्य मुलुकमा लाइब्रेरीको परिकल्पना पहिले नै गरेर मात्र विद्यालय बनाइने भए पनि नेपालमा भने लाइब्रेरीलाई प्राथमिकतामा नराखिएको उनको भनाई थियो। आजको दिनमा बढी सूचना हुने मान्छे नै धनी कहलिने र त्यसका लागि लाइब्रेरीको विकास गर्नुपर्ने हुँदा प्याब्सन सँगको यो सहकार्यले सार्थकता पाउने उनको अपेक्षा थियो। लाइब्रेरी विकास फोरम तालिमको उद्देश्य पूर्तिका लागि प्रतिबद्ध भएर लाग्ने घोषणा पनि उनले गरे।
भोलि देखि एक महिना सम्म अक्सब्रिज ललितपुरमा तालिम सञ्चालन हुनेछ। फाइल तस्बिर