काठमाडौँ- २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको नतिजा आउने क्रम जारी छ। विजयी उम्मेदवारहरू विजय र्याली गर्ने र आफ्नो आगामी कार्यदिशा तय गर्ने कार्यमा व्यस्त छन्। यसैक्रममा सप्तरी बाट शैक्षिक सुधारको प्रयास गरिने घोषणा सहितको एउटा निर्णय सार्वजनिक भएको छ।
सप्तरी जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित डा सिके राउतले आफ्ना मतदातालाई धन्यवाद दिँदै आफूले गर्ने कामका केही योजनाहरू समेटेर धन्यवाद विज्ञप्ति निकालेका छन्। उनले गरेका ४ महत्त्वपूर्ण घोषणा मध्ये एक १००% साक्षरता अभियान हो। राउतले देशको साक्षरता दर करिब ६६% हुँदा सप्तरीको केवल ५४.५% रहेको र देशकै सबभन्दा कम साक्षरता दर भएका जिल्लाहरूमा सप्तरी पर्ने भएकाले आफूले यस्तो अभियान सञ्चालन गर्न लागेको बताएका छन्। उक्त कार्यका लागि युद्ध-स्तरमा काम गर्न साक्षरता सेनानी गठन र परिचालन गर्ने र कार्यकालको अन्त्यसम्ममा पूर्ण साक्षर जिल्ला बनाउने घोषणा उनले गरेका छन्।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा राउत जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले हराउँदै विजयी भएका थिए।
