काठमाडौँ- देशका अधिकांश भागमा हिजो मङ्सिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सम्पन्न भयो। मतदातामा कम उत्साह देखियो, सहभागिता कम भयो भन्ने गुनासो सुनिरहँदा एउटा अर्को विषय यतिबेला चर्चामा छ। त्यो हो, देशभरका मतदानस्थल राखिएका विद्यालयका अवस्था। त्यसमा पनि देशका बहालवाला प्रधानमन्त्री (जो यसअघि पनि चार पटक प्रधानमन्त्री बनिसकेका छन् ) सेर बहादुर देउवाले मतदान गरेको विद्यालयको अवस्थाका कारण सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ।
मौन अवधि सुरु भएपछि डडेलधुराको रातो गुराँस रिपोर्टमा मुकाम बनाएर बसेका प्रधानमन्त्री देउवाले हिजो बिहान १० बजे मतदानस्थल पुगेर मतदान गरेका थिए । देउवाले गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका थिए । मतदान गरे पश्चात् उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले मतदान गरेको फोटो पोस्ट गर्दै सबैलाई मतदान प्रक्रियामा सहभागी हुन अपिल गरेका थिए। उक्त पोस्टमा पाँच चोटि प्रधानमन्त्री हुँदा पनि आफ्नो ठाउँको विद्यालय बनाउन नसकेको भन्दै अब देउवा बाट देश विकासको आशा गर्न नसकिने किसिमका प्रतिक्रियाहरू आएका छन् भने थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त फोटो पोस्ट गर्दै उनको आलोचना गरेका छन् ।
देउवाले मतदान गर्दै गर्दा पृष्ठभूमिमा देखिएको असिग्राम माध्यमिक विद्यालयको भौतिक पूर्वाधारका कारण उनको आलोचना भएको हो। तस्बिर हेर्दा स्कुलको भवन जीर्ण अवस्थामा देखिन्छ भने आवश्यक भौतिक पूर्वाधार नभएको सहज अनुमान गर्न सकिन्छ।
प्रधानाध्यापक भन्छन् भवन भन्दा अन्य समस्या धेरै छन्:
सामाजिक सञ्जालमा भवन बारे प्रश्न उठेपछि मात्र एजुकेसनले विद्यालयका प्रधानाध्यापक कालि प्रसाद जोशीलाई यसबारे जिज्ञासा राखेको थियो। उनले भवन भन्दा धेरै अन्य समस्या रहेको जिकिर गरे। विसं २००५ सालमा स्थापित यो विद्यालयमा हाल कक्षा १२ सम्मका कक्षाहरू सञ्चालनमा छन् भने करिब ३५० विद्यार्थीहरू अध्ययनरत छन्। ५३ रोपनीमा फैलिएको विद्यालयका फरक फरक ब्लकहरू करिब ५/६ मिनेटको दुरीमा तलमाथि हिँड्नुपर्ने गरी रहेका छन्। एकठाउँमा व्यवस्थित भवनहरू नहुनु समस्याको रूपमा रहेको छ। देउवाले मतदान गर्दा देखिएको भवन प्राथमिक ब्लक हो जहाँ कक्षा १ देखि ५ सम्म पढाई हुन्छ। गत स्थानीय निर्वाचन सम्म भवनको समस्या रहेकोमा यो गुनासो देउवासमक्ष राखिएको र हाल ४ कोठे पक्की भवनका लागि योजना परेको प्रअ जोशी बताउँछन्। तर विद्यालयमा अहिले पनि कम्प्युटर ल्याब, पुस्तकालय र साइन्स ल्याब भने अपुग छ। पूर्वप्राथमिक तहमा एक जना शिक्षकको पनि अभाव विद्यालयमा रहेको छ। मात्र एजुकेसन सँगको संवादमा उनले यी समस्या समाधानका लागि पहल गरिदिन समेत आग्रह गरेका छन्।
भवनको समस्या समाधान हुने चरणमा रहेको भए पनि आफैँले सुरुवाती अध्ययन गरेको विद्यालयमा पाँच पटक प्रधानमन्त्री हुँदा समेत खास सुधार गर्न नसक्नुले देउवामाथि उठेको प्रश्न स्वाभाविक पनि हो कि ?