काठमाडौँ- माछापोखरी स्थित गोरखकाली स्कुलले ‘चौथो ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफ’ प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार क्षेत्रपाटि स्थित ह्वाइटफिल्ड सेकेण्डरी स्कुलको सभाहलमा आयोजित अन्तिम चार प्रतिस्पर्धी विद्यालय बिचको रोचक फाइनल राउन्डमा ३१० अंक सहित शीर्ष स्थानमा रहँदै उसले उपाधि हात पारेको हो। त्यस्तै २०० अंक सहित एभरेस्ट इङ्लिस स्कुल भक्तपुरले दोस्रो स्थान हासिल गर्दा ब्राइट फ्युचर स्कुल १२० अंक सहित तेस्रो र गीताञ्जली स्कुल ११० अंक सहित सान्त्वना स्थानमा कायम भए। यी चार विद्यालय आ- आफ्नो समूहको विजेता बन्दै सेमिफाइनल राउन्ड प्रवेश गरेका थिए।
कुल २७ विद्यालयको सहभागितामा ह्वाइटफिल्ड सेकेण्डरी स्कुलले ‘ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफको चौथो संस्करण’ सम्पन्न गरेको हो। अघिल्ला तिन वटा संस्करणहरूको सफलतालाई निरन्तरता दिँदै कार्तिक २७ गते सुरु भएको प्रतियोगिता आज २९ गते भव्य कार्यक्रम गर्दै समापन भएको हो। उपत्यकाव्यापी उक्त प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका विद्यालयहरूको सहभागिता रहेको थियो।
केही वर्ष अघि देखि नियमित गरिँदै आएको प्रतियोगिता कोरोनाका कारण गएका तिन वर्ष निरन्तर स्थगित भएका थिए। ३ वर्षको अन्तराल पछि अझै परिष्कृत बनाउँदै कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै ह्वाइटफिल्ड स्कुलका संयोजक तथा कार्यक्रम सञ्चालक राममणि बगालेले सबैको साथ सहयोगका कारण अघिल्ला तिन वटा संस्करण जस्तै यो चौथो संस्करण पनि सफल भएको प्रतिक्रिया दिए। उनले विजयी विद्यालयलाई बधाई दिँदै सबै प्रतिस्पर्धीलाई आगामी यात्राका लागि शुभकामना दिए।
हाजिर जवाफ प्रतियोगिताको फाइनल सकिए सँगै आयोजकले सहभागी सबै प्रतियोगी विद्यार्थीलाई प्रमाणपत्र दिएको थियो। त्यस्तै फाइनल पुग्न सफल हुने र विजयी हुने विद्यार्थीलाई मेडल, ट्रफी तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।
प्रतियोगिताका थप तस्बिरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्