काठमाडौँ- क्षेत्रपाटिमा रहेको ह्वाइटफिल्ड सेकेण्डरी स्कुलले ‘ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफको चौथो संस्करण’ आयोजना गर्ने भएको छ। विद्यालयमा आज आयोजित एक पत्रकार सम्मेलन मार्फत सो बारे जानकारी गराइएको थियो। अघिल्ला तिन वटा संस्करणहरू सफलतापूर्वक सञ्चालन गरिसकेको स्कुलले यही कार्तिक २७ गते देखि २९ गतेसम्म चौथो संस्करणको प्रतियोगिता सञ्चालन गर्ने भएको हो। । उपत्यकाव्यापी उक्त प्रतियोगितामा २७ विद्यालयहरूले भाग लिने तय भएको छ।
केही वर्ष अघि देखि नियमित गरिँदै आएको प्रतियोगिता कोरोनाका कारण गएका तिन वर्ष निरन्तर स्थगित भएका थिए। केही समयको अन्तराल पछि अझै परिष्कृत बनाउँदै कार्यक्रम आयोजना गर्न लागेकाले आफूहरू उत्साहित रहेको विद्यालय प्रशासन बताउँछ। आगामी २७ गते ह्वाइटफिल्डको सभाहलमा एक औपचारिक कार्यक्रम गर्दै प्रतियोगिताको उद्घाटन गर्ने तयारी आयोजकले गरेको छ। रक्तकाली एजुकेसन फाउन्डेसन (परिवर्तित नाम, ह्वाइटफिल्ड) का अध्यक्ष गोपाल कृष्ण श्रेष्ठको सभापतित्व तथा काठमाडौँ महानगर शिक्षा शाखा प्रमुख रामकृष्ण सुवेदीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सञ्चालन हुने बताइएको छ। त्यस्तै उक्त अवसरमा जनप्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, प्रतिनिधि शिक्षक शिक्षिकाहरू सहित विद्यार्थीहरूको भव्य उपस्थिति रहनेछ।

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै ह्वाइटफिल्ड स्कुलका संयोजक राममणि बगालेले विगतदेखि नै विज्ञान हाजिरजवाफ फरक किसिमले गर्दै आइएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइने बताए। उनका अनुसार पहिलो चरणमा सहभागी प्रतियोगी विद्यार्थीहरूले कार्तिक २७ गते ‘स्क्रिनिङ’ राउन्डमा सहभागी हुनुपर्नेछ। यो एक किसिमको बहु-वैकल्पिक प्रश्न भएको लिखित परीक्षा हुनेछ। यो परीक्षा मार्फत छनोट भएका २० विद्यालयले मात्रै भोलिपल्ट आयोजना हुने सेमिफाइनल राउन्डमा सहभागिता जनाउन पाउनेछन्। सेमिफाइनलका लागि ४ समूहमा प्रतियोगीहरूलाई विभाजन गरिनेछ। प्रत्येक समूहका विजेताले मात्रै फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् र अन्तिम प्रतिस्पर्धा यिनै ४ समूहबिच कार्तिक २९ गते हुनेछ।
सामान्य हाजिरजवाफको सट्टा विज्ञान विषयमा मात्रै केन्द्रित प्रतियोगिता किन भन्ने मात्र एजुकेसनको प्रश्नमा विद्यालयकी सहायक प्रधानाध्यापक वर्षा सिंह श्रेष्ठले आजको दिनमा विज्ञानको महत्त्व अत्यधिक रहेकाले विज्ञानलाई प्राथमिकता दिइएको बताइन्। साथै उनले सामान्य हाजिर जवाफ सहित अन्य थुप्रै क्रियाकलापहरू पनि विद्यालयले गर्दै आएको उल्लेख गरिन्। यस्ता प्रतियोगिताहरूले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटित हुने र २१ औँ शताब्दीका सिपहरू विद्यार्थीले प्राप्त गर्ने उनको भनाइ थियो।
हाजिर जवाफ प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीलाई विद्यालयले प्रमाणपत्र दिनेछ। त्यस्तै फाइनल पुग्न सफल हुने र विजयी हुने विद्यार्थीलाई मेडल, ट्रफी तथा प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ।