Matra Education आइतबार, साउन १० २०८३

सीटीईभीटीद्वारा पुनः आवेदन माग

सीटीईभीटीद्वारा पुनः आवेदन माग

  • मात्र एजुकेशन
  • मंगलबार, कार्तिक २२ २०७९


काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले आवश्यक विद्यार्थी नपाएपछि पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

स्वास्थ्य तर्फका प्रमाणपत्र तहका डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह सामान्य चिकित्सा र प्रमाणपत्र तह नर्सिङ बाहेकका कार्यक्रमहरूमा पूर्ण शुल्क तर्फका सिटहरू रिक्त रहेपछि सीटीईभीटीले पुनः प्रवेश परीक्षाको लागि आवेदन माग गरेको हो ।

शैक्षिक सत्र २०७९/८० मा सञ्चालन गरिने शैक्षिक कार्यक्रमहरूमा पूर्ण शुल्क तर्फ आवश्यक विद्यार्थीले आवेदन नदिएपछि पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

सीटीईभीटी परीक्षा समितिको १८ कात्तिकको बैठकले पूर्ण शुल्क तर्फ रिक्त रहेका सिटहरूमा पुनः प्रवेश परीक्षा लिई भर्ना गर्ने र सम्बन्धित शिक्षण संस्थाले अतिरिक्त कक्षाहरू सञ्चालन गरी पठनपाठन अनिवार्य रूपमा शैक्षिक कार्यतालिका अनुसार व्यवस्थापन गर्ने गरी पुनः आवेदन आह्वान गर्ने निर्णय गरेको थियो ।

परीक्षा नियन्त्रक यमप्रसाद भुर्तेलले विद्यार्थी कम हुनुका साथै सीटीईभीटीको निर्देशिका अनुसार विद्यार्थी कम भएकाले पुनः प्रवेश परीक्षाका लागि आवेदन माग गरिएको बताए । ‘अहिले अपग्रेटबाट पनि केही विद्यार्थी आएका छन् । त्यस्तै विद्यार्थी कम भर्ना भए भनेर पनि कुरा आयो । त्यसमा हाम्रो निर्देशिकाले रजिष्ट्रेशन गर्नुअघि पुनः प्रवेश परीक्षा लिन सकिने व्यवस्था भएकाले खोलेका हौं’ परीक्षा नियन्त्रक भुर्तेलले भने ।

देशभरका ४० देखि ५० प्रतिशत सिट अहिले रिक्त रहेको सीटीईभीटीले जनाएको छ । त्यसैले सीटीईभीटीले एचए, फार्मेसी र नर्सिङबाहेक फिजियो, आयुर्वेदिक, ल्याब, रेडियोग्राफी लगायतका विषयमा पुनः प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।

परीक्षा नियन्त्रक भुर्तेलले भने यी विषयमा विगतका वर्षमा पनि कमै विद्यार्थी भर्ना हुने गरेको थिए । साथै योग्यता पुगेका व्यक्तिहरूले २७ कात्तिक २०७९ भित्र आवेदन फारम भर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड