काठमाडौँ- यतिबेला माध्यमिक तहको नतिजा प्रकाशित गरिसकेको शिक्षक सेवा आयोग निम्न माध्यमिक तहको नतिजा प्रकाशित गर्ने तयारीमा जुटेको छ। यो तयारी हुँदै गर्दा आयोगले छिटै रिक्त दरबन्दीमा शिक्षक पदपूर्तिका लागि विज्ञापन गरिने जनाएको छ। आयोगले केही समय अघि प्रकाशित गरेको नयाँ कार्यतालिकामा यो कुरा उल्लेख छ।
कार्यतालिका अनुसार पुसमा माध्यमिक तह, माघमा निम्न माध्यमिक र फागुनमा प्राथमिक तहको विज्ञापन हुनेछ। अब विज्ञापन खोल्दा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दीको विवरणअनुसार खोल्नेछ। त्यस्तै आयोगले गत वर्ष खुलाएको दरबन्दीअनुसार परीक्षार्थी उत्तीर्ण नभई रिक्त रहेका दरबन्दी सहित थप गरेर पनि विज्ञापन हुनेछ।
आयोगले लिएको परीक्षामा गणित, विज्ञान विषयको परीक्षामा धेरै शिक्षक दरबन्दी रिक्त छन्। आयोगले २०७९ चैत मसान्तसम्मको शिक्षक रिक्त दरबन्दीको विवरण (प्रावि, निमावि र मावि) अनुसार नै विज्ञापन प्रयोजनका लागि केन्द्रले दिएको विवरणअनुसार विज्ञापन गर्ने जनाएको छ।