Matra Education आइतबार, साउन १० २०८३

विद्यालय कर्मचारीहरू सँग अर्थमन्त्रीको आशय: यो वार्ताले पार लाग्दैन, काममा फर्किनुस्

विद्यालय कर्मचारीहरू सँग अर्थमन्त्रीको आशय: यो वार्ताले पार लाग्दैन, काममा फर्किनुस्

  • मात्र एजुकेशन
  • बिहिबार, असोज ६ २०७९


काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आन्दोलनरत विद्यालय कर्मचारीलाई माग सम्बोधन गर्ने भन्दै काममा फर्किन आग्रह गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्का पदाधिकारीसँगको भेटको क्रममा मन्त्री शर्माले भने, ‘तपाईँहरूले उठान गरेका माग सम्बोधन हुन्छन् । हामी फरक ढंगबाट माग सम्बोधन गर्छौ । तपाईँहरू काममा फर्किनुहोस् ।’

अर्थ मन्त्रालयसँगको वार्ता निष्कर्षमा पुग्न नसकेको बेला परिषद्का पदाधिकारीहरूले अर्थमन्त्री शर्मासँग भेट गरेर माग सम्बोधनका लागि आग्रह गरेका थिए । जवाफमा मन्त्री शर्माले अहिले भइरहेको वार्ता र संवादबाट उठिरहेका कुरा सम्बोधन नहुन पनि सक्ने भन्दै मन्त्रालयले नयाँ उपाय सोचिरहेको बताए ।

परिषद्का महासचिव शान्तिनाथ योगीले तत्काल माग सम्बोधनका लागि स्किल निर्धारणसहितको सेवा सुविधा उपलब्ध गराउने कुरा मन्त्री शर्माले उठाएको बताए । परिषद् पदाधिकारीहरूले त्यस्तो हो भने त्यो विषय लिखित रूपमा दिन अनुरोध गरेका थिए । जवाफमा मन्त्री शर्माले त्यसरी लिखित रूपमा दिन नमिल्ने बताएका थिए ।

‘पे कमिसनमा स्किल निर्धारणसहितको सेवा सुविधा पुनः उपलब्ध गराउने भन्ने कुरा गर्नुभयो । त्यो हो भने हामी आजै काममा फर्किन तयार छौँ तर, त्यो लिखित रूपमा दिनुहोस् न भन्यौँ । उहाँले लिखित रूपमा दिन मिल्दैन भन्नुभयो ।’ महासचिव योगीले भने ।

दरबन्दी सिर्जना गर्दै दीर्घकालीन समाधान गर्नको लागि ऐन कानुन नै संशोधन गरेर अघि बढ्नुपर्ने हुन्छ । तर, संघीय शिक्षा ऐन आउने क्रममा रहेकाले तत्काल स्किल निर्धारणसहितको सेवा सुविधा दिनेबारे मन्त्रालय तयार रहेको अर्थमन्त्री शर्माले बताएका हुन् ।

विभिन्न माग अघि सारेर विद्यालय कर्मचारीहरू गत भदौ १ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । सरकारसँग वार्ता जारी रहेकाले हाल आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । फाइल तस्बिर

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड