Matra Education आइतबार, साउन १० २०८३

भव्य कार्यक्रमका बिच `अपेन किड्स स्पार्कल डे- २०७९´ सम्पन्न

भव्य कार्यक्रमका बिच `अपेन किड्स स्पार्कल डे- २०७९´ सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, असोज ३ २०७९


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखा नगर कमिटीले आयोजना गरेको `अपेन किड्स स्पार्कल डे- २०७९´ सम्पन्न भएको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा आयोजित एक भव्य औपचारिक कार्यक्रममा आफ्ना बालबालिकाहरूको सुन्दर प्रस्तुति देखाउँदै अपेन टोखाले कार्यक्रम सम्पन्न गरेको हो। अपेन टोखाले २०७५ सालमा आयोजना गरेको पहिलो ‘अपेन किड्स स्पार्कल डे’ को निरन्तरता स्वरूप सिजन २ आयोजना गरिएको थियो। मन्टेश्वरी तथा प्रि स्कुल पढ्ने साना बालबालिकाहरूको प्रस्तुति रहेको कार्यक्रम भए पनि प्रस्तुतिहरू कुनै व्यवसायिक कलाकारको जस्तो देखिन्थ्यो।

प्रि-स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि आयोजित कार्यक्रम अपेन टोखाकी अध्यक्ष उर्मिला त्रिपाठीको सभापतित्व तथा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन अपेन टोखाकी वरिष्ठ उपाध्यक्ष संगीता दुवाडीले गरेकी थिइन्। कार्यक्रममा टोखा नगरपालिकाका नगर बिनी विजय पराजुली, अपेनका केन्द्रीय अध्यक्ष बद्रि दाहाल, केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहरा सहित अपेनका केन्द्रीय सदस्यहरू, विभिन्न स्थानीय कमिटीका अध्यक्ष तथा पदाधिकारीहरू अतिथिका रूपमा उपस्थित भएका थिए। त्यस्तै कार्यक्रममा अपेन टोखाका सदस्य तथा पदाधिकारीहरू, सदस्य विद्यालयहरूका शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको भव्य उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले बालबालिकाहरूले उत्कृष्ट प्रस्तुति दिएको देखेर गौरव महसुस भएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अपेन टोखाकी वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगीता दुवाडीले कवितात्मक शैलीमा बालबालिकाको सौन्दर्य तथा निर्दोषपनको चर्चा गरिन्। अपेन टोखाले बालबालिकाको हकहितका लागि विभिन्न कार्यक्रम गर्दै आएको निरन्तर जारी रहने पनि उनले उल्लेख गरिन्।

त्यस्तै अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालले अपेनले देशैभर नेटवर्क विस्तार गरिरहँदा यो खालका कार्यक्रम पनि बालबालिकाको क्षमता विकासका लागि गर्दै आएको बताए। बालबालिकाको हितका लागि सबै सँग साझेदारी गर्न संस्था तयार रहेको उनको भनाइ थियो । सीप संस्कार र प्रविधि सहितको शिक्षा दिने अभियानमा अपेन रहेको भन्दै उनले बालबालिकाहरूको चौतर्फी विकासका लागि नेपाल सरकार, स्थानीय सरकार र नगरपालिकाहरुले पनि आफूहरू सँग सहकार्य गर्नुपर्ने धारणा राखे। प्रविधिले अवसर सँगै समस्या पनि पारेको उल्लेख गर्दै उनले ‘डिजिटल डिसिप्लिन’ पालना गर्न अभिभावकलाई अनुरोध गरे । त्यस्तै अपेन राष्ट्रिय स्तरमा बालबालिकाका मुद्दा उठाउन र दबाब बढाउन तयार रहेको उनको भनाइ थियो ।

१७ विद्यालयका करिब ४२५ बालबालिकाको सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति कार्यक्रममा राखिएको थियो। प्रत्येक प्रस्तुति फरक भाव बोकेको र सन्देश दिने किसिमको देखिन्थ्यो भने नेपाली मौलिक कला, संस्कृति अनि ऐतिहासिक अवस्था चित्रण हुने किसिमको थियो। कार्यक्रमको रोचक पक्ष चाहिँ यति साना उमेरका बालबालिकालाई विद्यालयले दिएको तालिम र उनीहरूमा भरेको आत्मविश्वास देखिन्थ्यो। अझै विशेष त यी प्रस्तुतिहरूले आजको नेपाली समाजको वास्तविक प्रतिबिम्ब मञ्चमा देखाएका थिए। बालबालिकाको हौसला बढाउन भन्दै विशेष प्रस्तुतिका लागि उपस्थित भएका चर्चित राष्ट्रिय कलाकारहरू प्रकाश सपुत र माण्डवी त्रिपाठीको उपस्थितिले कार्यक्रमलाई थप रुचिकर बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले नगरबासि सबैलाई आउँदै गरेको विजया दशमीको शुभकामना दिए । थोरै समयमा अपेनले गरेको प्रगतिका लागि बधाई तथा धन्यवाद दिएका उनले अभिभावकहरूले पनि बाल विकासका लागि ध्यान दिनुपर्ने उल्लेख गरे । आफू र टोखा नगरपालिका सकारात्मक कामका लागि अपेन सँग सहकार्य गर्न सधैँ तयार रहेको उनले बताए।

कार्यक्रममा बोल्ने अन्य सबै वक्ताले बालबालिकालाई प्रतिभा देखाउने उचित मञ्च दिएको भन्दै यो प्रयास सराहनीय रहेको र भोलिका दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे। अपेन टोखाले सबै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान गरेको थियो।

कार्यक्रम समापन गर्दै कार्यक्रमकी सभापति तथा अपेन टोखाकी अध्यक्ष उर्मिला त्रिपाठीले बालबालिकाहरू भित्र सुषुप्त रूपमा रहेको क्षमता विकास गरी उनीहरूको आत्मविश्वास बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। त्यस्तै टोखा नगरपालिका भित्र सञ्चालित प्रि स्कुलहरू बिच एकता र सहकार्यको भावना वृद्धि गराउनु पनि कार्यक्रमको उद्देश्य भएको उनको भनाई थियो। आफ्ना साना छोराछोरीले यति अनुशासित भएर मञ्चमा प्रस्तुति दिँदा त्यसले अभिभावकहरूलाई पनि पक्कै खुसी बनाएको उनको विश्वास थियो। अनेक चुनौतीहरूलाई सामना गर्दै कार्यक्रम सफल बनाएकोमा उनले अपेन टोखाका सम्पूर्ण सदस्यहरू तथा सम्बद्ध सबै प्रति आभार प्रकट गरिन्। कार्यक्रम सम्पन्न गर्न प्रायोजन गर्ने संस्थाहरू र शोभा बढाउन उपस्थित हुने अतिथिहरू प्रति पनि उनले कृतज्ञता व्यक्त गरिन्। आगामी दिनमा पनि यस किसिमको कार्यक्रमहरू निरन्तर जारी राख्ने प्रतिबद्धता सहित उनले कार्यक्रम अन्त्य भएको घोषणा गरिन्।

तपाईँ यहाँ क्लिक गरेर मात्र एजुकेसनले कैद गरेको उक्त कार्यक्रमका तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड