Matra Education आइतबार, साउन १० २०८३

अपेन किड्स ट्यालेन्ट ट्रायल: साना बालबालिकाको लोभलाग्दो प्रस्तुति

अपेन किड्स ट्यालेन्ट ट्रायल: साना बालबालिकाको लोभलाग्दो प्रस्तुति

  • रमेश लामिछाने
  • शनिबार, असोज १ २०७९


काठमाडौँ- तपाईँ आफूले कुनै प्रस्तुति दिनका लागि मञ्चमा उक्लिएको पहिलो अनुभव सम्झनुहुन्छ ? पक्कै पनि त्यो विद्यालय तहमा थियो होला। आजका धेरै वयस्कहरूलाई यो प्रश्न सोध्ने हो भने अवसर पाइएन वा मञ्चमा उक्लने आँट थिएन भन्ने जवाफ पाइन्छ। तर हिजो आज भने मन्टेश्वरी पढ्ने बालबालिकाहरूकै प्रस्तुति पनि तपाईँले हेर्नुभयो भने तारिफ नगरी बस्न सक्नुहुन्न। विशेष गरी साना बालबालिकाहरूलाई विद्यालय तिर आकर्षित गर्न खेल्दै सिकाउने मन्टेश्वरी प्रि-स्कुलहरु आज उनीहरूलाई विद्यालय ल्याउन मात्रै होइन व्यक्तित्व विकासको जग बसाल्न पनि सफल देखिएका छन्।

गत बिहीबार प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा एउटा यस्तै दृश्य देखियो। सन्दर्भ थियो बाल दिवसका अवसरमा मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) बुढानीलकण्ठ नगर कमिटीले आयोजना गरेको ‘अपेन किड्स ट्यालेन्ट ट्रायल सिजन ३’। अपेन बुढानीलकण्ठले २०७५ सालमा आयोजना गरेको पहिलो अपेन किड्स ट्यालेन्ट ट्रायलको निरन्तरता स्वरूप आयोजित उक्त कार्यक्रममा बालबालिकाहरूको प्रस्तुति कुनै व्यवसायिक कलाकारको जस्तो देखिन्थ्यो।

प्रि-स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि आयोजित कार्यक्रम अपेन बुढानीलकण्ठ नगर अध्यक्ष राजकुमार घिमिरेको सभापतित्व तथा बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन अपेन बुढानीलकण्ठका वरिष्ठ उपाध्यक्ष विनोद थापाले गरेका थिए। त्यस्तै नगर शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह, प्याब्सन काठमाडौँ जिल्ला सहसचिव कृष्ण भण्डारी, प्याब्सन बुढानीलकण्ठ नगर अध्यक्ष राधेश्याम श्रेष्ठ, बुढानीलकण्ठ शैक्षिक मञ्च अध्यक्ष कृष्ण प्रसाद लामिछाने, अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहरा, बुढानीलकण्ठ नगरपालिका वडा नं.४ का अध्यक्ष श्रीराम केसी, वडा नं.६ का अध्यक्ष रवि खड्का र वडा नं.७ का अध्यक्ष बसनारायण महर्जन लगायत अतिथिका रूपमा कार्यक्रममा उपस्थित भएका थिए। अपेनका विभिन्न तहका पदाधिकारी, सदस्य विद्यालयहरूका शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको भव्य उपस्थिति कार्यक्रममा रहेको थियो। उपस्थित सबै अतिथिहरूले बालबालिकाहरूले यो तहको प्रस्तुति दिएको देखेर गौरव महसुस भएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए।

२६ विद्यालयका करिब ५०० बालबालिकाको सांस्कृतिक तथा अतिरिक्त क्रियाकलापको प्रस्तुति कार्यक्रममा राखिएको थियो। प्रत्येक प्रस्तुति फरक भाव बोकेको र सन्देश दिने किसिमको देखिन्थ्यो भने नेपाली मौलिक कला, संस्कृति अनि ऐतिहासिक अवस्था चित्रण हुने किसिमको थियो। कार्यक्रमको रोचक पक्ष चाहिँ यति साना उमेरका बालबालिकालाई विद्यालयले दिएको तालिम र उनीहरूमा भरेको आत्मविश्वास देखिन्थ्यो। त्यसैमाथि अतिथिका रूपमा आएका एसओएसका फरक क्षमता भएका बालबालिकाले व्हीलचेयरमा गरेको नृत्यले सबैलाई भावुक बनाएको थियो।

कार्यक्रममा बोल्ने सबै वक्ताले बालबालिकालाई प्रतिभा देखाउने उचित मञ्च दिएको भन्दै यो प्रयास सराहनीय रहेको र भोलिका दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे। अपेन बुढानीलकण्ठले सबै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड