Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स कलेजले गर्‍यो कक्षा १२ उत्तीर्णलाई बिदाइ

सेन्ट लरेन्स कलेजले गर्‍यो कक्षा १२ उत्तीर्णलाई बिदाइ

  • मात्र एजुकेशन
  • शुक्रबार, भाद्र ३१ २०७९


काठमाडौँ- चाबहिलको सेन्ट लरेन्स कलेजले कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरेको छ। बिहीबार चाबहिलको इम्पेरीयल ब्याङ्केटमा आयोजित एक औपचारिक कार्यक्रमका बिच कलेजले २०७७/७८ ब्याचमा प्लस टु तह पुरा गरेका विद्यार्थीलाई उक्त तहबाट बिदाइ गरेको हो । त्यसो त स्नातक तहमा आफ्ना विद्यार्थीलाई फेरि स्वागत गर्ने पनि कलेज प्रशासनले जनाएको छ ।

सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरेका करिब ८०० विद्यार्थीहरू सहित कलेजका शिक्षक शिक्षिका तथा कर्मचारीहरूको व्यापक उपस्थिति रहेको थियो ।

सेन्ट लरेन्सले यस वर्ष पनि सदाझैँ प्लस टु तहमा उत्कृष्ट नतिजा प्राप्त गरेको कार्यक्रममा बताइएको थियो। प्रत्येक संकाय बाट सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थीलाई उक्त अवसरमा कलेजले सम्मान पनि गरेको थियो। विज्ञान संकाय तर्फ निरञ्जन ढकालले ३.९२ जिपिए सहित अग्रस्थानमा आफूलाई राख्दा व्यवस्थापनमा एलिजा डाँगीले ३ .८९ जिपिए सहित आफूलाई अब्बल प्रमाणित गरेकी थिइन्। त्यस्तै ३.६३ जिपिए सहित सुष्मिता कार्की कानुन संकाय टपर बन्दा मानविकी बाट ३. ५३ जिपिए सहित सपना नेपाल टपर बनिन्।

कार्यक्रममा आफ्नो अनुभव बाँड्दै विज्ञान संकायका ‘टपर’ निरञ्जन ढकालले आफूले आफूलाई विश्वास गरे मात्र सफलता प्राप्त हुने बताए। उनले सेन्ट लरेन्सले दिएको उपयुक्त शैक्षिक वातावरणकै कारण आफूले चाहे अनुसार अंक प्राप्त गर्न सकेको भन्दै कलेजलाई धन्यवाद दिए।

कलेजले सबै ८०० विद्यार्थीहरूलाई मायाको चिनो सहित सम्मान गरेको थियो भने ‘फ्याकल्टी टपरहरुलाई’ स्नातक तहमा पूर्ण छात्रवृत्तिको अवसर सहित मायाको चिनो र प्रमाणपत्रले सम्मानित गरेको थियो।

कार्यक्रम समापन गर्दै कलेजका अध्यक्ष केशव प्रसाद दंगालले उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना दिए। पछिल्लो समय नेपालमै उच्च शिक्षाको विश्व स्तरीय पढाई हुन थालेको भन्दै उनले सकेसम्म पढ्नका लागि विदेश नजान सुझाव दिए। यदि जानैपर्ने अवस्था भए त्यहाँको शिक्षा र सिप लिएर नेपाल फर्कन अनि देशमै केही गर्न उनले सुझाए। उनले अभिभावकको ख्याल गर्ने जिम्मेवारी छोराछोरीको हो भन्ने नभुल्न पनि अनुरोध गरे।

सेन्ट लरेन्सले हरेक बोर्ड परीक्षामा प्राप्त गर्ने नतिजा नै कलेजको असली पहिचान भएको दंगालको भनाई थियो। सेन्ट लरेन्सले सबै विद्यार्थीका लागि आकर्षक छात्रवृत्ति योजनाहरू ल्याएको भन्दै उनले स्नातक तह पढ्नका लागि सेन्ट लरेन्स रोज्न सुझाव दिए। परीक्षाको नतिजा र अन्य विविध सूचकहरूले स्नातक तहका कलेज मध्ये सेन्ट लरेन्स अब्बल हो भन्ने प्रमाणित भएको भन्दै उनले संसारका जुन सुकै कुनामा बिक्ने जनशक्ति कलेजले उत्पादन गरेको दाबी गरे। कलेजले आफ्नो गुणस्तरलाई कायम गर्दै आगामी दिनमा अझै उत्कृष्ट शैक्षिक वातावरण बनाउने प्रतिबद्धता सहित उनले कार्यक्रम अन्त्य गरे।

सेन्ट लरेन्स कलेज विभिन्न शैक्षिक अवार्ड तथा पुरस्कारहरू द्वारा सम्मानित कलेज हो। कलेजले अहिले स्नातक तहमा विभिन्न संकायमा भर्ना लिइरहेको छ। तपाईँ कलेज बारे थप जानकारी चाहनुहुन्छ भने यहाँ क्लिक गरेर कलेजको फेसबुक पेज सँग जोडिन सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड