Matra Education आइतबार, साउन १० २०८३

मिस्टर एन्ड मिस साउथ वेस्टर्नको ग्राण्ड फिनाले सम्पन्न

मिस्टर एन्ड मिस साउथ वेस्टर्नको ग्राण्ड फिनाले सम्पन्न

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र २९ २०७९


काठमाडौँ- साउथ वेस्टर्न स्कुल, वसुन्धरा द्वारा आयोजित मिस्टर एन्ड मिस साउथ वेस्टर्नको ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार वसुन्धराको यती इभेन्ट्समा आयोजित ग्राण्ड फिनाले मार्फत विद्यालयले मिस्टर एन्ड मिस साउथ वेस्टर्न छनोट गरेको हो । प्रतियोगितामा करिब ११०० विद्यार्थीहरू मध्यबाट विभिन्न ६ चरण पार गरेका अन्तिम १६ सहभागीले प्रतिस्पर्धा गरेका थिए । मिस्टर एन्ड मिस साउथ वेस्टर्न जुनियर र सिनियर गरी ४ जनाले उक्त उपाधि प्राप्त गरेका छन्।

साउथ वेस्टर्न स्कुल सञ्चालक समितिका अध्यक्ष टिकाराम महराको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नायिका नम्रता सापकोटा, गायिका सुवानी मोक्तान, नायक तथा मोडल आनन्द सिङ र इभेन्ट म्यानेजर मल्लिका दाहालले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेश अधिकारी, सहप्रधानाध्यापक कुमार केसी, विभिन्न तहका इन्चार्जहरू सहित शिक्षक, शिक्षिका, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै साउथ वेस्टर्न स्कुलका इसिए इन्चार्ज प्रकाश केसीले साउथ वेस्टर्न गट ट्यालेन्ट जस्तै अर्को नयाँ कार्यक्रमको सुरुवात गरिएको बताए। प्रतिभा प्रस्फुटनका लागि करिब उस्तै शैली अपनाइएको भए पनि कार्यक्रम मिस नेपाल वा त्यस्तै किसिमका ‘ब्युटी पेजेन्ट’ भन्दा फरक भएको उनको दाबी थियो। अतिरिक्त क्रियाकलाप र पाठ्यक्रम सँग सम्बन्धित क्रियाकलापलाई जोड्नु कार्यक्रमको मूल उद्देश्य भएको पनि उनले उल्लेख गरे। केसीले आफ्ना विद्यार्थीलाई बगरको सामान्य ढुङ्गो जस्तो नभई सबै चोट र परीक्षाको सामना गर्न सक्ने कुँदिएको मूर्तिजस्तो बनाउन यस किसिमको कार्यक्रम विद्यालयले आयोजना गरेको बताए।

कार्यक्रमको मुख्य आकर्षण बनेको प्रतिस्पर्धा साँच्चै रोचक बनेको थियो। अन्तिम चरणको प्रतिस्पर्धा र उपाधि सँगको छोटो दुरीका कारण प्रतिस्पर्धीहरू आफूलाई अब्बल देखाउन प्रयासरत देखिन्थे। सँगै उनीहरूको मेहनत र मार्गनिर्देशन गर्ने शिक्षक/शिक्षिकाको सिर्जनात्मकता मञ्चमा प्रस्ट झल्किएको थियो। विभिन्न जात जातिहरूको मौलिक पोसाक र भेसभुसामा सजिएका प्रतिस्पर्धीहरूले उपस्थित दर्शकलाई आफूले लगाएको पहिरन र त्यसको संस्कृतिबारे जानकारी गराएको दृश्य मनमोहक देखिन्थ्यो। साथै लोपोन्मुख संस्कृतिको प्रतिनिधित्व पनि विद्यार्थीहरूले गरेका थिए।

ग्राण्ड फिनालेमा पनि विभिन्न चरणमा प्रतिस्पर्धा गरेका प्रतिस्पर्धीहरूले प्रश्नोत्तर राउन्डलाई अझै विशेष बनाएका थिए। प्राथमिक देखि माध्यमिक तह पढ्ने आफ्ना छोराछोरीहरूले निर्णायकको प्रश्नमा मञ्चबाट दिएको सिर्जनात्मक उत्तर सुनेर विद्यालयका अभिभावकहरू प्रफुल्लित देखिन्थे।

कार्यक्रमलाई सम्बोधन गर्दै साउथ वेस्टर्न स्कुलका प्रधानाध्यापक रमेश अधिकारीले पि.जि देखि पि.एच.डि सम्म पढाइ हुने थोरै शैक्षिक संस्था भित्र विद्यालय पर्ने उल्लेख गरे। विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र आत्मविश्वास विकासका लागि विद्यालयले शिक्षा र अतिरिक्त क्रियाकलापलाई सँग सँगै लगेको उनको भनाई थियो। प्रतिस्पर्धा गरेपछि नतिजा जे जस्तो आए पनि स्विकार्नुपर्ने भन्दै उनले आफूमा रहेको डर जितेर मञ्च सम्म पुग्दै आफूलाई अब्बल साबित गर्ने सबै विद्यार्थी आफ्ना लागि विजेता भएको बताए। हार जित र उतारचढावहरू मानव जीवनको अभिन्न अंग भएको बताएका अधिकारीले जीवन खेत रोपाईंजस्तै भएको उल्लेख गरे। खेत रोपाइँमा पछाडि हट्दै जाँदा काम सकिएजस्तै कहिलेकाहीँ जीवन पछाडि परेजस्तो लागे पनि सफलता त्यसमा लुकेको हुने उनको भनाई थियो।

ग्राण्ड फिनालेको अन्त्य सँगै आजै नतिजा घोषणा गरी विद्यालयले विजयी विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरेको थियो। नतिजा अनुसार सिनियर तर्फ मनिष इटानिले मिस्टर साउथ वेस्टर्नको उपाधि जित्दा आभास पोखरेलले जुनियर तर्फ सोही उपाधि जिते। त्यस्तै रिहाना उप्रेतीले सिनियर तर्फ मिस साउथ वेस्टर्नको उपाधि जितिन् भने जुनियर तर्फको सोही उपाधि रोश्मा ओलीले हात पारिन्।

त्यस्तै सिनियर तर्फ सक्षम पौडेल फस्ट रनरअप र रेगिन महर्जन सेकेन्ड रनरअप बन्दा जुनियर तर्फ सम्बिद केसी फस्ट रनरअप र निशान सापकोटा सेकेन्ड रनरअप मिस्टर साउथ वेस्टर्न बन्न सफल भए। यसैगरी सिनियर तर्फ सहिस्मा डंगोल फस्ट रनरअप, तपस्या जिसी सेकेन्ड रनरअप हुँदा जुनियरतर्फ ओमिशा ढकाल फस्ट रनरअप र पूर्णिमा खनाल सेकेन्ड रनरअप मिस साउथ वेस्टर्न बने।

कार्यक्रम समापन गर्दै सभाध्यक्ष महराले कार्यक्रमलाई भव्य र सभ्य बनाउन लागिपर्ने सम्पूर्णलाई विद्यालयको तर्फबाट धन्यवाद दिए। कार्यक्रमको पहिलो संस्करण भएकाले केही कमी कमजोरी रहेको हुनसक्ने भन्दै उनले आगामी वर्ष यो भन्दा भव्य रूपमा कार्यक्रम सम्पन्न गर्ने उद्घोष गरे। गन्तव्यमा पुग्न अथक रूपमा निरन्तर लागिरहे मात्रै सम्भव हुने भन्दै उनले विजयी विद्यार्थीलाई बधाई र सहभागीलाई शुभकामना सहित कार्यक्रम अन्त्य गरे।

साउथ वेस्टर्न स्कुल आइ.एस.ओ ९००१: २०१५ क्युएमएस प्रमाणित स्कुल हो।

तपाईँ यहाँ क्लिक गरेर मात्र एजुकेसनले खिचेको ग्राण्ड फिनालेको तस्बिरहरू हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड