काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) ले ‘अपेन किड्स गट ट्यालेन्ट सिजन २’ सम्पन्न गरेको छ। २०७६ सालमा आयोजित पहिलो अपेन किड्स गट ट्यालेन्टको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गरिएको हो। प्रि स्कुल पढ्ने उमेरका बालबालिकाहरूमा आत्मविश्वास बढाउँदै उनीहरूमा रहेको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रम आयोजना गरेको अपेन केन्द्रीय समितिले जनाएको छ। कार्यक्रममा प्रि स्कुल पढ्ने ४० विद्यालयका विद्यार्थीहरूको लोभलाग्दो प्रस्तुति देखाइएको थियो। साना बालबालिकाहरूको प्रतिभा प्रस्तुत गर्ने मञ्च बनाइएको भए पनि प्रस्तुतिहरू व्यवसायिक कलाकारहरूको जस्तो देखिन्थ्यो।
डिएभि स्कुलको सभाहल जावलाखेलमा अपेनका केन्द्रीय अध्यक्ष बद्री दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। अपेनले आफ्ना लागि विद्यार्थी तथा अभिभावक नै प्रधान रहेको भन्दै उनीहरूलाई नै अतिथि बनाएको थियो। कार्यक्रममा अपेनको विभिन्न कमिटीका पदाधिकारीहरू सहित ४० सदस्य विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक तथा कर्मचारीहरूको भव्य उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै अपेनका केन्द्रीय सदस्य तथा बागमती प्रदेश अध्यक्ष कृष्ण कुमार बोहराले कार्यक्रम अपेनको नियमित गतिविधिको निरन्तरता भएको बताए। अपेन शिक्षा सँगै बालबालिकाहरूमा रहेको प्रतिभा प्रस्फुटन गर्नुपर्छ भन्नेमा सचेत रहेको हुँदा सोही प्रयोजनका लागि कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे। बालबालिकाहरूको सर्वपक्षीय विकासका लागि अपेनका सदस्य विद्यालयहरू कति सचेत छन् भन्ने कुराको प्रमाण बालबालिकाहरूले तयार गरेको प्रस्तुति भएको उनको भनाई थियो।
त्यस्तै अपेनका केन्द्रीय अध्यक्ष बद्री दाहालले आधुनिक उपकरणहरूमा बढी रमाउने आजका बालबालिकालाई यस्ता सिर्जनात्मक क्रियाकलापमा संलग्न गराउँदा उनीहरूको बौद्धिक क्षमता विकास हुने उल्लेख गरे। बालबालिकाहरूले मञ्चमा चढेर आफूले जानेको प्रस्तुति देखाउँदै गर्दा उनीहरूमा म सक्षम छु भन्ने आत्मविश्वास बढ्ने र भविष्यका चुनौती सामना गर्न उनीहरू तयार हुने उनको विश्वास थियो। उनले मञ्चमा प्रस्तुति मात्रै देखिए पनि त्यसको तयारीका लागि शिक्षिका तथा कर्मचारीहरूको अथक मेहनत लुकेको उल्लेख गरे। अपेनले आगामी दिनमा पनि यस किसिमका कार्यक्रम आयोजना गर्दै जाने उनको प्रतिबद्धता थियो।
अपेनले सबै सहभागी विद्यालय तथा विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रले सम्मान पनि गरेको थियो।
मात्र एजुकेसन कार्यक्रमको अफिसियल मिडिया पार्टनरका रूपमा रहेको थियो। तपाईँ यहाँ र यहाँ क्लिक गरेर मात्र एजुकेसनले कैद गरेका तस्बिरहरू हेर्न सक्नुहुन्छ।