काठमाडौँ- चाबहिलको रिभेरा इन्टरनेसनल एकेडेमीले स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार कमलपोखरी स्थित रसियन कल्चर सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच रिभेराले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट नतिजा सहित कक्षा १२ पास गरेका विद्यार्थीलाई बिदाइ गरेको हो ।
रिभेरा इन्टरनेसनल एकेडेमीका अध्यक्ष नरेन्द्र भट्टराईको सभापतित्व तथा काठमाडौँ महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष विमल होडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा रिभेराका शिक्षक-शिक्षिका, विद्यार्थी तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम सँगै रिभेराका विद्यार्थीका विविध प्रतिभा र प्रस्तुतिले कार्यक्रमलाई अझै बढी रोचक र अर्थपूर्ण बनाएको थियो।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै रिभेराका प्रिन्सिपल प्रज्वल कोइरालाले करिब ३ वर्ष पछि यस किसिमको औपचारिक कार्यक्रम गरिएको बताए। उनले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै कक्षा १२ उत्तीर्ण गर्नेलाई उज्वल भविष्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिए। २४ औँ वर्षमा सञ्चालन भइरहेको रिभेराले विगत ८ वर्षदेखि +२ सञ्चालन गरेको र सधैँ झैँ यस वर्ष पनि शत प्रतिशत नतिजा ल्याउन सफल भएको उल्लेख गरे। सबैभन्दा कम जिपिए ल्याउनेले पनि ३.०१ ल्याएको हुँदा यही नै रिभेराको असली परिचय भएको उनको भनाइ थियो । ‘नेतृत्व राष्ट्रका लागि’ भन्ने नारा बोकेको कलेज भएको हुँदा भोलि हरेक क्षेत्रमा रिभेराका विद्यार्थीले नेतृत्व लिने विश्वास आफ्नो रहेको पनि उनले बताए। रिभेराले सङ्ख्यामा होइन गुणस्तरमा विश्वास गर्ने उनको भनाइ थियो।

त्यस्तै रिभेराका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश श्रेष्ठले देशको समग्र रिजल्ट ४८% हुँदा पनि रिभेराले सत प्रतिशत नतिजा प्राप्त गर्नु आफैँमा रिभेराको पहिचान भएको बताए। यो सफलताका लागि उनले विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीको मेहनत रहेको भन्दै त्यसका लागि आभार प्रकट गरे। साथै उनले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अनुशासित भएर आगामी दुई वर्ष मेहनत गर्न सुझाव दिए।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष होडाले रिभेराको यो किसिमको सफलताले आफू खुसी एवम् उत्साहित भएको बताए। रिभेरा काठमाडौँ महानगरमै योगदान दिनसक्ने शैक्षिक संस्था भएको उनले उल्लेख गरे। हरेक व्यक्तिमा अन्तर्निहित प्रतिभा हुने भन्दै त्यसलाई विकास गर्न उपयुक्त अवसर चाहिने र विद्यालयले त्यो काम गर्न सक्नुपर्ने उनले उल्लेख गरे। आजको शिक्षा गरिखाने शिक्षा हुनुपर्ने भन्दै उनले विद्यार्थी तथा विद्यालयलाई विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक उत्पादन गर्न तिर ध्यान दिन सुझाव दिए।

कार्यक्रममा रिभेराले विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी तथा बोर्ड परीक्षाहरूमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कृत पनि गरेको थियो।
कार्यक्रम समापन गर्दै सभापति भट्टराईले उपस्थित सबैलाई धन्यवाद दिए। कक्षा ११ का विद्यार्थीले रिभेरा छनोट गरेर उपयुक्त निर्णय लिएको भन्दै उनले सत प्रतिशत नतिजा प्राप्त र पुनः परीक्षा दिनु नपर्ने कलेज पढ्दै गर्दा यो उत्कृष्टता कायम गर्ने संकल्प विद्यार्थीहरूमा पनि हुनुपर्ने धारणा राखे। विद्यार्थीको सुनिश्चित भविष्य निर्माणका लागि रिभेरा प्रतिबद्ध रहेको र सोही अनुसारका शैक्षिक विधि तथा पद्धति अवलम्बन गरिएको उनको भनाई थियो। उनले नव आगन्तुकलाई स्वागत तथा कक्षा १२ पास गरेका विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै कार्यक्रम अन्त्य गरे।

यहाँ क्लिक गरेर उक्त कार्यक्रमको फोटो फिचर हेर्न सकिन्छ ।