काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोज बहादुर शाहले शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि सम्मान तथा अवार्ड प्राप्त गरेका छन्। शिक्षालयले बुधवार काठमाडौँमा आयोजना गरेको एक औपचारिक कार्यक्रमका बिच शाहले ‘लाइफ टाइम एचिभ्मेन्ट अवार्ड’ प्राप्त गरेका हुन्।
मेगा बैंकको अध्यक्ष बन्नुअघि शाह लामो समय शिक्षण पेसामा आबद्ध थिए। निजी स्कुल-कलेजको सञ्चालक हुँदै निजी शैक्षिक संस्थाको सबैभन्दा ठुलो छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को अध्यक्ष समेत बनेका उनले नेपालको शैक्षिक रूपान्तरणमा योगदान गरेकै कारण अवार्ड प्राप्त गरेका हुन्। खासगरि निजी विद्यालय आपसमा मर्ज गराउने,प्रविधिमैत्री बनाउने, शैक्षिक गुणस्तर सुधारका कार्यक्रम बनाउने सहित प्याब्सनमा उनले थुप्रै सुधारका काम गरेका थिए।
शिक्षालयको १६ औँ वार्षिक उत्सव तथा १०० अंक प्रकाशन भएको विशेष अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय देखि योगदान पुर्याउदै आएका विभिन्न व्यक्तित्व, उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय तथा शैक्षिक सुधारमा महत्त्वपूर्ण कार्य गरेका नगरपालिकाहरूलाई पनि सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।