काठमाडौँ- गत भदौ १ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले केही दिन अघि मात्रै माग सम्बोधन हुने दिशामा अगाडी बढेको भन्दै आन्दोलन स्थगित गरे। १ हप्तासम्म देशभरका सामुदायिक विद्यालय बन्द आव्हान गरेकै दिन शिक्षा मन्त्रालयले वार्ता मार्फत समस्या सुल्झाइने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको थियो।
त्यस यता पटक पटक वार्तामा बसे पनि उनीहरूको माग सम्बोधन हुन सकेको छैन। नेपाल विद्यालय कर्मचारी परिषद्को वार्ता टोलीले माग पुरा भएको खबर सुनाउने प्रतीक्षामा रहेका कर्मचारीहरू सधैँको एउटै जवाफले निराश बनेका छन्। त्यो बारम्बार दोहोरिएर आउने जवाफ हो, ‘वार्ता सकारात्मक ‘।
परिणाममुखी वार्ता हुन नसक्नुले कतै सरकारले विभिन्न बहानामा फेरी टार्ने हो कि भन्ने आशंका विद्यालय कर्मचारीहरूमा छ। पटक पटक पाएको आश्वासनमा भएको धोका स्मरण गराउँदै उनीहरूले त्यसतर्फ सचेत हुन र ‘ललिपप’ मा नभुल्न नेतृत्वलाई सामाजिक सञ्जाल मार्फत खबरदारी पनि गरिरहेका छन्।
यसैबिच माग सम्बोधनका लागि आन्दोलनरत विद्यालय कर्मचारीले राजनीतिक दलका नेताहरूसँगको भेटघाटलाई पनि तीव्रता दिएका छन् । आफ्ना मागहरू सुनुवाइको लागि चौतर्फी दबाब सिर्जना गर्नको लागि राजनीतिक भेटघाटलाई समेत तीव्रता दिइएको नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जानकारी दिए । अहिले कर्मचारी र सरकारबीच वार्ताको प्रक्रिया चलिरहेको छ । उनीहरू एकातिर सरकारसँग वार्ता गरिरहेका छन् अर्कोतिर राजनीतिक दलका नेतादेखि सरकारी अधिकारीसम्मको भेटघाटलाई तीव्रता दिएका छन् ।
बुधबार नेकपा एमाले महासचिव शंकर पोखरेल, प्रमुख सचेतक विशाल भट्टराई, नेता लालबाबु पण्डित लगायतसँग उनीहरुले भेट गरेका छन् । उनीहरूसँगको भेटको क्रममा आफ्ना मागका विषयमा सहयोग गर्न आग्रह थिए । जवाफमा आफु सधै कर्मचारीको पक्षमा रहेको र माग सुनुवाइका लागि सरकारलाई दबाब सिर्जना गर्न आफूहरू तयार रहेको नेताहरुले बताएका थिए ।
कर्मचारीहरुले बुधबार नै अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेट गरेका छन् । भेटको क्रममा आफ्ना मागका विषयमा अर्थमन्त्री शर्मालाई ब्रिफ गरेका थिए । जवाफमा मन्त्री शर्माले आफु कर्मचारीका माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि सरकारले प्रक्रिया थालिसकेको बताएका थिए ।
उनीहरूले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेताहरू डा शेखर कोइराला, मिनेन्द्र रिजाल, एनपी साउँद लगायतका नेताहरूसँग समेत भेटघाट गरेका छन् । भेटको क्रममा आफ्ना माग सुनुवाइका लागि पहल गरिदिनु अनुरोध गरेका थिए । जवाफमा कांग्रेसका नेताहरूबाट समेत माग जायज भएको भन्दै सम्बोधनका लागि सरकारलाई आग्रह गर्ने बताएका थिए ।
सरकारसँगको वार्ता १/२ दिनभित्रमा निष्कर्षमा पुग्न सक्ने महासचिव योगीले बताए । ‘अहिले सरकारी अधिकारीहरूले आन्तरिक तयारी गरिरहेका छन् । उहाँहरू आन्तरिक तयारी गरेर मोडालिटी तयार पार्नुहुन्छ । अनि त्यसपछि छलफल हुनेछ ।’ महासचिव योगीले भने ।