काठमाडौँ- टेक्सस इन्टरनेशल कलेजद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा भव्यताका साथ सम्पन्न भएको छ । मङ्गलवार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित एक औपचारिक कार्यक्रमका बिच टेक्ससले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
टेक्सस इन्टरनेसनल कलेजका प्रिन्सिपल भेस राज पोखरेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा टेक्सस इन्टरनेसनल कलेजका शिक्षक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो । उपस्थित विद्यार्थीलाई स्वागत गर्दै टेक्सस इन्टरनेसनल कलेजका उपप्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्सस छनोट गरेर विद्यार्थीले उपयुक्त निर्णय गरेको बताए । मन्टेश्वरी देखि मास्टर्स सम्म पढाई हुने शैक्षिक संस्था भएका कारण टेक्ससले आफ्ना विद्यार्थीको बिदाइ मास्टर्स पछि मात्रै गर्ने उनको भनाई थियो । ४०० भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेको र आफ्ना विद्यार्थी सफल भए मात्रै उनीहरूले आफ्नो जित भएको सम्झने भन्दै श्रेष्ठले सफलताको भर्याङका रूपमा कलेजलाई लिन सुझाव दिए ।
जीवनमा सफल मात्रै नभई असल बन्न सके मात्रै इतिहासमा नाम रहने भन्दै उनले त्यसका लागि विद्यार्थीको चौतर्फी विकास हुनुपर्ने र टेक्ससको उद्देश्य त्यही भएको उल्लेख गरे । उनले विद्यार्थीको टेक्ससको पढाई अर्थपूर्ण रहने विश्वास सहित सबैलाई टेक्सस परिवारमा स्वागत गरे।
कार्यक्रममा कलेजका प्रिन्सिपल भेसराज पोख्रेलले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूले गुणस्तरीय शिक्षा हासिल गर्नका लागि एक मात्र सही गन्तव्य टेक्सस इन्टरनेशनल कलेज रहेको उनले बताए । केही समय अघि मात्रै प्रकाशित भएको कक्षा १२ को नतिजामा करिब ६०० विद्यार्थीहरू मध्ये ३०० सय विद्यार्थीहरूले ‘ए’ र ए प्लस ल्याएर १३ वर्ष पछि कलेजलाई यस्तो सर्वोत्कृष्ट नतिजा दिएकोमा उनले खुसी व्यक्त गरे।
त्यस्तै कक्षा ११ मा भर्ना भएर कम्प्युटर साइन्स पढ्न थालेका विद्यार्थीहरूका लागि यु. के मा रहेको कलेज सँग सहकार्य गरेर नयाँ प्रोग्रामहरू सञ्चालन गरिने उनले बताए । एम.बि.एस.मा नेपालमै पहिलो पटक हस्पिटालिटी म्यानेजमेन्ट पढाउन लागेको यो पहिलो कलेज भएको पनि उनले बताए ।
कार्यक्रमको मुख्य आकर्षण बनेका प्रमुख अतिथि गगन कुमार थापाले नव आगन्तुक विद्यार्थीलाई सफल जीवन बनाउने बारे महत्त्वपूर्ण सुझावहरू दिए । जीवनमा सफलता हासिल गर्न र जित्नका लागि गतिलो आत्मविश्वास चाहिन्छ भन्दै गगन थापाले विद्यार्थीहरूलाई राम्रो सँग शिक्षा हासिल गर्न अनुरोध गरे । साथै कक्षा १२ उत्तीर्ण गरेर स्नातक पढ्न जाँदै गर्दा विद्यार्थीहरूले नयाँ सीप र क्षमताका साथ जानुपर्ने कुरामा पनि उनले जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै हाल कक्षा १२ मा अध्ययनरत बिपना थापा, र मुकुन्द निरौलाले कलेज बारे आफ्नो धारणा राखेका थिए । उनीहरूले एक वर्ष अघि आफूहरू कलेजमा स्वागत हुँदै गर्दा के होला ? कस्तो होला ? भन्ने कौतुहलता रहेको र पढाई सुरु गरेपछि सोचे भन्दा अझै स्तरीय शिक्षा कलेजबाट पाएको हुँदा ढुक्क हुन नव आगन्तुक विद्यार्थीलाई सुझाव दिए । टेक्सस कलेज छनोट गर्नु आफूहरूको सबैभन्दा महत्त्वपूर्ण निर्णय भएको उनीहरूको भनाई थियो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि टेक्सस कलेज गुणस्तरको पर्याय बनेकै कारण निरन्तर सफलताको यात्रातिर लम्किरहेको धारणा राखे । आज टेक्सस कलेजका उत्पादनहरू हरेक क्षेत्रमा सफल हुनु नै यसको प्रमाण भएको उनीहरूको भनाइ थियो ।