काठमाडौँ- बुढानीलकण्ठ नगरपालिका ८ भंगाल स्थित भ्याली पब्लिक स्कुलले आफ्नो शैक्षिक विकास तथा रूपान्तरणका लागि विभिन्न ४ संस्थासँग सम्झौता गरेको छ । शनिवार विद्यालयको हलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच भ्याली पब्लिकले काठमाडौँ विश्व विद्यालय, इन्स्पाएर एजुकेसन, आइएसओ र लाइब्रेरी डेभलपमेन्ट फोरम सँग सम्झौता गरेको हो ।

भ्याली पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मेजर लिल ब गुरुङको सभापतित्व तथा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा विशेष अतिथि रहेको कार्यक्रममा काठमाडौँ विश्व विद्यालयका डिन तथा प्रोफेसरहरू सहित सम्झौता भएका अरू ३ संस्थाका प्रतिनिधिहरू, प्याब्सन पदाधिकारी, बुढानीलकण्ठ नगर भित्रका वडा अध्यक्षहरू र शिक्षा क्षेत्रमा क्रियाशील अन्य व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए। कार्यक्रममा भ्याली पब्लिकका शिक्षक, अभिभावक, विद्यार्थीहरू तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयका फाउन्डर प्रिन्सिपल कृष्ण अधिकारीले उपस्थित सबैलाई धन्यवाद दिए । भ्याली पब्लिक स्कुल अब रूपान्तरणको प्रयासमा रहेको र विश्व स्तरीय शिक्षा दिनका लागि अझै प्रतिबद्ध बनेको उनको भनाइ थियो। स्याङ्जाको एउटा विकट गाउँबाट आएर आफूले अक्षरहरूको खेती गर्ने सपना देखेको र त्यसमा श्रीमतीको साथ हुँदा कठिन संघर्षका साथ विद्यालय स्थापना गरेको उनले स्मरण गरे । स्थापना कालदेखि नै व्यवस्थापन समिति अध्यक्ष मेजर लिल ब गुरुङको योगदान अतुलनीय रहेको समेत उनले उल्लेख गरे । २६ औँ वर्षको तयारी गर्दैगर्दा ३ वटा थप विद्यालय सहितको सिङ्गो भ्याली पब्लिक बनाउन योगदान दिने सबैलाई स्मरण गर्दै उनले आभार प्रकट गरे। देशमै न्यूनतम शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने विद्यालयको उद्देश्य पुरा गर्नका लागि सम्झौताहरूले महत्त्वपूर्ण योगदान दिने उनको विश्वास थियो।

त्यस्तै कार्यक्रममा इन्स्पाइर एजुकेसनका फाउन्डर सिइओ इन्द्र प्रसाईँ, लाइब्रेरी डेभलपमेन्ट फोरमका फाउन्डर यज्ञ राज भट्ट, आइएसओका नेपाल प्रमुख ॐ राज भण्डारी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिनले आ- आफ्नो संस्था सँग भएको सम्झौता र कसरी भ्याली पब्लिक सँग सहकार्य हुनेछ भन्ने विषयमा प्रस्ट पारेका थिए। उनीहरूको भनाइको साझा सार सम्झौता पश्चात् भ्याली पब्लिकको गुणस्तर माथि उठ्ने र हरेक पक्षबाट विद्यालय अब्बल हुनेछ भन्ने आशयको थियो। मुख्यगरि यी सम्झौताहरू पश्चात् विद्यालयमा अत्याधुनिक र सुविधा सम्पन्न लाइब्रेरी स्थापना हुनेछ, शिक्षक शिक्षिकाहरूलाई उपयुक्त तालिमको व्यवस्था हुनेछ भने प्रोग्रेसिभ र होलिस्टिक मोडलको शिक्षा विकास गर्दै आइएसओ गुणस्तरका मापदण्ड पुरा गरी प्रमाणित गरिने बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले देशलाई परिवर्तन गर्नका लागि शिक्षा विकासको जरुरी भएको बताए । अपेक्षित परिवर्तन ल्याउनका लागि सबै विद्यालयको सोच र विचार परिवर्तन हुन जरुरी भएको भन्दै उनले हरेक शैक्षिक क्रियाकलाप सञ्चालनका लागि के कति समय लाग्छ र कति कसरत गर्नुपर्छ भन्ने कुरा विद्यालयले विचार गर्नुपर्ने बताए । नेपालीहरूले समयको पालना गर्न नसकेको गुनासो गर्दै उनले त्यही कारण हामीहरू अझै पछाडि परेको उल्लेख गरे । मोबाइलको दुरुपयोगले शैक्षणिक प्रक्रियामा पारेको प्रभावबारे चर्चा गर्दै उनले त्यसले हाम्रो शैक्षिक स्तर बिगारेको पनि उल्लेख गरे । आफ्नो शैक्षिक विकासका लागि भ्याली पब्लिकले गरेको यो सुरुवातका लागि आफू सधैँ शुभचिन्तक बनिरहने भन्दै उनले अझै प्रगतिको शुभकामना दिए।

कार्यक्रममा भ्याली पब्लिकका विद्यार्थीले प्रस्तुत गरेको गायन, वाद्यवादन तथा नृत्य कलाले उपस्थित सबैको मन जितेको थियो।

शुभकामना दिन भन्दै कार्यक्रमको अन्तिम तिर उपस्थित भएका काङ्ग्रेस महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले नेपालका विद्यालयहरूमा कक्षाकोठामा सबै कुरा भए पनि सिकाइ अर्थपूर्ण हुन नसकेको बताए । विषयगत रूपमा सिकाई प्रभावकारी हुन नसकेकाले राष्ट्रिय रूपमै सिकाई अपेक्षित हुन नसकेको उनले उल्लेख गरे । आफ्नो छोरीको सान्दर्भिक उदाहरण दिँदै उनले बालबालिकालाई प्रयास गर्दा कहिलेकाहीँ असफल पनि भइन्छ भन्ने कुरा विद्यालयले बुझाउनु पर्ने बताए। आजको मानव जीवनमा मानसिक स्वास्थ्य अर्को विकराल समस्याका रूपमा रहेको भन्दै उनले यस्ता समस्या समाधानका लागि स्कुल र अभिभावक बिच नियमित संवाद हुनुपर्ने उल्लेख गरे। भ्याली पब्लिकले सधैँ आफूलाई उत्कृष्ट प्रमाणित गरिरहेको भन्दै उनले यो शृङ्खला अब अझै मजबुत हुने विश्वास व्यक्त गरे।

कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालय स्थापनाकालका दिनहरू स्मरण गर्दै आफू विद्यालय सँग जोडिएको क्षणको अनुभव सुनाए । विभिन्न उतारचढाव आए पनि तिनलाई पार गर्दै विद्यालय निरन्तर उकालो लाग्ने प्रयासमा रहेको उनको भनाइ थियो । उनले विभिन्न सामाजिक सेवामा विद्यालयका फाउन्डर प्रिन्सिपल कृष्ण अधिकारी र आफ्नो सहकार्यको पनि स्मरण गरे। ५० भन्दा बढी विद्यालयमा कम्प्युटर ल्याबहरू स्थापना गरेको र त्यही क्रममा ग्रामीण भेगका विद्यार्थीले भोगेको समस्या समाधान गर्ने क्रममा भ्याली पब्लिकको जन्म भएको उनले बताए। अभिभावकहरू आफ्नो एक वा दुई बालबालिकाको भविष्यका लागि चिन्तित रहने भए पनि आफू भने आफ्ना ४० जना बच्चाहरू (उनको रेखदेख र संरक्षणमा रहेका) को भविष्य अझै राम्रो हुने भो भनेर यो सम्झौता पश्चात् सबैभन्दा बढी खुसी भएको उनले बताए। यस्ता सम्झौताहरू मार्फत भ्याली पब्लिक आफ्ना विद्यार्थीको सुनौलो भविष्यका लागि केन्द्रित छ भन्ने सन्देश दिन आफूहरूले चाहेको उल्लेख गर्दै उनले कार्यक्रम समापन गरे।

भ्याली पब्लिक प्रशासनले सम्झौता भएको यस दिनलाई इतिहासमा स्वर्ण अक्षरले लेखिने दिनको संज्ञा दिएको छ । वि सं २०५० सालमा स्थापित भ्याली पब्लिक स्कुल आफ्नै १५ रोपनीमा निर्माण गरिएको शैक्षिक पूर्वाधार सहितको भवनमा अवस्थित छ भने लामो समय देखि स्तरीय शिक्षाको पर्याय बन्दै आएको छ।
तपाईँ यहाँ क्लिक गरेर मात्र एजुकेसनको क्यामेराले कैद गरेको कार्यक्रममा तस्बिरहरू हेर्न सक्नुहुन्छ।