काठमाडौँ- कक्षा १२ को नतिजा प्रकाशन सम्बन्धी कार्य अन्तिम चरणमा पुगेको भन्दै विगत चार पाँच दिन देखि नतिजा प्रकाशन हुँदै छ भनेर व्यापक रूपमा खबर फैलाइए पनि त्यो केबल खबरमा नै सीमित रह्यो।
तोकिएकै समयमा नतिजा प्रकाशन गर्ने काममा भने बोर्ड नराम्ररी चुकेको छ । भदौ दोस्रो साता भित्रै नतिजा प्रकाशन गर्छौँ भनेर परीक्षा बोर्डले ठोकुवा नै गरेको थियो तर त्यो पूरा हुन सकेन ।
त्यस्तै उच्च शिक्षाका लागि बाटो खुल्ने कक्षा १२ को नतिजा नआउँदा विद्यार्थीहरूमा भने तनाव सुरु हुन थालेको छ । स्वाभाविक नै हो जुनसुकै नतिजा प्रकाशित हुँदा पनि विद्यार्थीहरूको मनमा पास हुने हो कि हैन भन्ने डर पलाउँछ नै । अहिले त्यस्तै डर पलाउन थालेको छ कक्षा १२ का विद्यार्थीहरूमा । कतै दसैँ र नतिजा सँगसँगै आउने त होइन भनेर त्रासको घण्टी बज्न थालेको छ विद्यार्थीहरूको मनमा ।
आज आउँछ कि भोलि आउँछ कि भन्दै नतिजा कुरेर बसेका लाखौँ विद्यार्थीहरू बोर्डको यस्तो आलटाले पारा देखेर वाक्क भएका छन् । बोर्डले साउन अन्तिम देखि नै नतिजा प्रकाशन गर्छौँ भनेर बारम्बार भने पनि असोज लाग्न लागिसक्यो तर नतिजा आउने भने अत्तोपत्तो छैन ।
समयमै नतिजा नआएकोमा विद्यार्थीहरूको व्यापक गुनासो आएपछि मात्र एजुकेसनले सम्बन्धित निकाय सँग जवाफ माग्ने कोसिस गरेको छ ।
कक्षा १२ को नतिजा कहिलेसम्म आउँछ भन्ने हाम्रो प्रश्नमा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्राविधिक काम नसकिएकोले नतिजा प्रकाशनमा ढिलाइ भइरहेको भनेर उही पुरानै जवाफ दोहोर्याएका छन् । “कर्मचारी साथीहरूले काम गरिराख्नुभएको छ । काम सकिएपछि नतिजा प्रकाशन हुनुभन्दा ५ घण्टा अगाडि तपाईँहरूलाई जानकारी दिन्छौँ उनले भने ।”
नतिजा प्रकाशनमा ढिलाइ हुनुको अर्को कारण केही विद्यालयहरूले प्रयोगात्मक तर्फको नतिजा पठाउन ढिलाइ गर्नाले र नम्बर नै पठाउन बिर्सिएकाले पनि हो । हाम्रा कर्मचारी साथीहरूले कम्प्युटरमा ट्याली गर्दा यस्तो समस्याहरू देखिएपछि अहिले विवरणहरू माग गरेर इन्ट्री गराउने काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने ।
त्यस्तै प्राविधिक काम सकिएपछि बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय गरिने पनि शर्माले बताए । यसपालि नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन हुने हुँदा त्यसका लागि सैद्धान्तिकतर्फको र प्रयोगात्मकतर्फको छुट्टाछुट्टै नम्बर राख्नुपर्ने हुन्छ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेडिङ सिस्टममा समावेश गरिने अध्यक्ष शर्माले बताए ।
गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । बोर्डले पहिलो पटक ‘नन–ग्रेडिङ’ सिस्टम अनुसार नतिजा प्रकाशन गर्न लागेको हो । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
बर्सेनि प्राविधिक कारण देखाउँदै नतिजा प्रकाशनमा ढिलाइ गर्ने त बोर्डलाई बानी नै परेको छ । नतिजा प्रकाशन गर्ने बेलामा आएर मात्रै देखिने प्राविधिक समस्या कस्तो खालको हो ? पहिले नै कुन कुन विद्यालयले नम्बर पठाए पठाएनन् भन्ने प्राविधिक रूपमा निर्क्योल गर्न सकिन्न र ? सधैँ विद्यार्थीहरूको भविष्य सँग खेलबाड र मनोमानी गर्ने अधिकार बोर्ड सँग छ ?