Matra Education आइतबार, साउन १० २०८३

अस्ट्रेलियन विद्यार्थी भिसामा समस्या, नेपालबाटै दिन नेपाल सरकारको अनुरोध

अस्ट्रेलियन विद्यार्थी भिसामा समस्या, नेपालबाटै दिन नेपाल सरकारको अनुरोध

  • मात्र एजुकेशन
  • बुधबार, भाद्र १५ २०७९


काठमाडौँ – नेपालले अष्ट्रेलिया जान चाहनेका लागि काठमाडौंस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा दिने व्यवस्था सुचारु गर्न अष्ट्रेलिया सरकारलाई आग्रह गरेको छ। नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्रको मंगलबार अष्ट्रेलियाको क्यानबेरामा सम्पन्न बैठकमा नेपालले सो आग्रह गरेको हो।

विगतमा अष्ट्रेलियाले काठमाडौंस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा जारी गर्ने गर्थ्यो। तर अहिले नेपालीलाई भिसाका लागि नयाँदिल्लीमा कागजपत्र पठाउनुपर्ने झन्झट छ। यद्यपी अष्ट्रेलिया जानेका लागि बायोमेट्रिक चाहिँ नेपालबाटै लिने गरिएको छ।

काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले भिसा जारी गर्ने काम नगरेको केही वर्ष बितिसकेका छन्। नेपालले यहाँस्थित अष्ट्रेलियन दूतावासबाटै भिसा दिने व्यवस्था मिलाउन आग्रह पटक-पटक गरेपनि अष्ट्रलियाले सुनुवाई गरेको छैन।

मंगलबार आयोजित परराष्ट्रसचिव स्तरीय बैठकमा पनि अष्ट्रेलियाले नेपालको अनुरोधमा स्पष्ट जवाफ दिएन। नेपालबाट अष्ट्रेलिया जानेको संख्या उल्लेख्य छ। अहिले त्यहाँ नेपाली विद्यार्थी मात्रै झन्डै डेढलाख छन्।

बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र अष्ट्रेलियाका परराष्ट्र मामिला तथा व्यापार मन्त्रालयका डेपुटी सेक्रेटरी जस्टिन हेयहस्र्टले सम्बन्धित प्रतिनिधिमण्डलको नेतृत्व गरे।

परामर्श संयन्त्रको बैठकमा दुई देशबीच शिक्षा, उर्जा, लगानी, व्यापार, पर्यटन, प्रविधि हस्तान्तरण, आप्रवासन, जलवायु परिवर्तन र विपद् नियन्त्रण लगायतका क्षेत्रमा सहयोग अभिबृद्धि गर्ने विषयमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड