काठमाडौँ- पटक पटक दिएको अल्टिमेटम र ज्ञापनपत्रका वापजुद आफ्ना मागहरू पुरा नभएको भन्दै आन्दोलनमा होमिएका विद्यालय कर्मचारीहरूको माग अब भने पुरा हुने भएको छ। सरकारले आफूहरूसँग गरेका सहमति उल्लङ्घन गरेको भन्दै देशभरका विद्यालय कर्मचारीहरू भदौ १ गते देखि सडक आन्दोलनमा उत्रिएका थिए। त्यस्तै उनीहरूले भदौ ५ गते थापा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्दै आजबाट देशभर सामुदायिक विद्यालय बन्द आव्हान गरेका थिए।
त्यसो त समस्या समाधानका लागि भन्दै गत शुक्रवार शिक्षा मन्त्रालयमा आन्दोलनरत विद्यालय कर्मचारी परिषद्, नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयका अधिकारीहरूबिच सामान्य छलफल भएको थियो । तर परिषद्का अध्यक्ष गंगाराम तिवारीले मन्त्रालयले औपचारिक रूपमा पत्र काटेर वार्तामा बोलाउनु पर्ने बताएका थिए । परिषद्ले उक्त छलफल पछि पनि निरन्तर आन्दोलन जारी राखेपछि आज मन्त्रालयले पत्र काटेरै वार्तामा बोलाएको हो।
पत्रमा कर्मचारीले उठाएका मागहरूका विषयमा वार्ता र छलफल गरिने मन्त्रालयले उल्लेख गरिएको छ।
मन्त्रालयका उपसचिव विदुरराज गिरीले हस्ताक्षर गरेको पत्रमा परिषद्ले मिति २०७९/४/२३ मा प्रधानमन्त्री समक्ष पेस गरेको ज्ञापन पत्र र सेवा सुविधासम्बन्धी मागहरू राखेर विगत केही दिन विद्यालय कर्मचारीहरू आन्दोलनरत रहेकोमा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै भनिएको छ,”विद्यालय कर्मचारीको सेवा सुविधालाई व्यवस्थित किसिमबाट सम्बोधन गर्नको लागि विगतमा नेपाल शिक्षक महासंघबीच भएको सहमतिसँग सम्बन्धित कार्यसूचीमा समावेश गरिएको सन्दर्भमा सो विषयमा मन्त्रालयबाट अन्य निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने प्रयास जारी रहेको सबैलाई विदितै छ । यसै क्रममा ज्ञापन पत्रमा उठाएका मागहरूको विषयमा नेपाल शिक्षक महासंघ मार्फत छलफल तथा वार्तामा सहभागी हुन तथा हाल घोषणा गरिएको विद्यालय बन्दका कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठनपाठन सहज हुने वातावरण सिर्जना गर्न समेत मन्त्रालय अनुरोध गर्दछ ।”
यो आव्हानलाई सकारात्मक भन्दै परिषद्ले पनि स्वागत गरेको छ। वार्ता कतिको फलदायी हुन्छ र विद्यालय कर्मचारीको आन्दोलनले अब कुन मोड लिन्छ त्यो भने हेर्न बाँकी नै छ।
