Matra Education आइतबार, साउन १० २०८३

भदौ १२ गते देखि १ हप्ता सामुदायिक विद्यालय बन्द रहने, यस्तो छ कारण (सूचना सहित)

भदौ १२ गते देखि १ हप्ता सामुदायिक विद्यालय बन्द रहने, यस्तो छ कारण (सूचना सहित)

  • मात्र एजुकेशन
  • शनिबार, भाद्र ११ २०७९


काठमाडौँ- आगामी भदौ १२ गते देखि १८ गते सम्म सामुदायिक विद्यालयहरू बन्द रहने भएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले एक हप्ता विद्यालय बन्द गर्ने भएको हो। परिषद् राष्ट्रिय समितिले आफ्ना माग पुरा गर्नका लागि सरकार उदासीन बनेको भन्दै यस्तो कदम चाल्न बाध्य भएको जनाएको छ। शनिवार एक सूचना जारी गर्दै परिषद्ले आवश्यक सहयोगका लागि सामुदायिक विद्यालयका अभिभावकहरूलाई अनुरोध गरेको छ।

परिषद्को मिति २०७९/०४/२० गतेको राष्ट्रिय समितिको निर्णय बमोजिम आन्दोलनका कार्यक्रम निरन्तर जारी रहेको र मिति २०७९/०५/०४ गते पद्मोदय मा.वि. काठमाडौँमा बसेको संयुक्त बैठकको निर्णयको बुँदा नं. ४. अनुसारको एक हप्ते सामुदायिक विद्यालय बन्द कार्यक्रम सञ्चालन गर्न लागेको सूचनामा उल्लेख छ।

परिषद्को माग मुद्दा नेपाल सरकारले सम्बोधन गर्दा अभिभावकहरूले तिर्दै आएको विद्यालयहरूको सहयोग शुल्क पूर्ण रूपमा निशुल्क हुने वातावरण सिर्जनाका लागी पनि अभिभावकहरूको ऐक्यबद्धता परिषद्ले आह्वान गरेको छ। साथै विद्यालय बन्द बाट पर्ने असुविधाका लागि परिषद्ले क्षमायाचना गरेको छ।

भदौ १ गतेदेखि विद्यालय कर्मचारीहरू निरन्तर आन्दोलनमा छन्। सरकारले विद्यालय कर्मचारीको पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रु ३४,७३० मासिक तलब र दुई हजार रुपैयाँ महँगी भत्ता गरी जम्मा रु ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रु २४,२१० र महँगी भत्ता दुई हजार गरी रु २६,२१० दिनुपर्ने, शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी गर्नु पर्ने लगायतका मागहरू उनीहरूको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड