काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विगत १३ महिना अघि २०७८ साउनमा परीक्षा लिएको विभिन्न संकाय अन्तर्गत रहेको बि.बि.एस, बि.ए र बि.एड प्रथम वर्षको परीक्षाफल अझैसम्म प्रकाशित गर्न सकेको छैन । परीक्षा दिएको यति लामो समय सम्म पनि नतिजा नआउँदा विद्यार्थीहरूमा अन्यौलता र नैराश्य थपिएको छ ।
परीक्षा लिएको ३ महिना भित्रै नतिजा प्रकाशन गर्छौँ भनेर दाबी गरे पनि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ महिना भित्र नतिजा त परको कुरा परीक्षा दिएको उत्तरपुस्तिका समेत जम्मा गरेर भ्याउँदैन ।
प्रथम वर्षको नतिजा अझैसम्म नआएको, दोस्रो वर्षको परीक्षा दिइसकेको र तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भैसकेको अवस्थामा नतिजा आउने भने कुनै सुरसार छैन । यस्तो हुँदा कयौँ विद्यार्थीहरूमा नतिजा कहिले,कस्तो आउला, पास हुने हो कि होइन, नतिजा आएर पास भए त ठिकै छ पास नभए फेरि ब्याक लागेमा पुनः ब्याक पेपरको परीक्षा सँगसँगै रेगुलर परीक्षाको पनि तयारी गर्नुपर्दा पढ्नमा मानसिक रूपमा प्रेसर, समयको अभाव, चिन्ता, तनाव भई पढाई प्रति नै नैराश्य पलाउने डर विद्यार्थीहरूमा छ ।
त्यस्तै २०७७ माघमा स्नातक भर्ना भएका विद्यार्थीहरूको परीक्षा २०७८ फाल्गुनमा भएको थियो । ६ महिना बितिसक्दा यो परीक्षाको परीक्षाफल पनि प्रकाशित हुन सकेको छैन । जसका कारण स्नातक तहका विद्यार्थीहरूले त्रि.वि. प्रति आक्रोश पोखेका छन् । त्रि.वि. केवल नामको मात्रै विश्वविद्यालय भएको र त्यहाँ काम गर्ने कर्मचारीहरूले लुटी खाने भाँडो बनाएर आफूहरूलाई जे मन लाग्छ त्यही मात्रै गर्ने, नतिजा प्रकाशनको कुरा गर्दा कानमा तेल हालेर बस्ने, विद्यार्थीहरू प्रति अलिकति पनि जिम्मेवार नहुने,नतिजा कहिल्यै समयमै प्रकाशन नगर्ने गरेको आम विद्यार्थीहरूको गुनासो छ ।
देशकै ठुलो र सबै विद्यार्थीहरूको एक मात्र आशा र भरोसाको केन्द्रबिन्दु रहेको त्रि.वि. ले नै नतिजा निकाल्नमा यस्तो चरम लापरबाही,ढिलासुस्ती र आनाकानी गर्न थालेपछि विद्यार्थीहरू आफ्नो करियरलाई लिएर पिरोलिन थालेका छन् । नतिजा समयमै निकाल्न भनेर बारम्बार विद्यार्थीहरूले प.नि का. नै पुगेर दबाब नदिएका पनि होइनन् तर सुन्दै नसुने झैँ गरी गैरजिम्मेवार जवाफ दिएर आलटाल गरिरहन्छ त्रि वि प. नि. का ।
समयमै नतिजा नआएकोमा विद्यार्थीहरूको व्यापक गुनासो आएपछि मात्र एजुकेसनले सम्बन्धित निकाय सँग जवाफ माग्ने कोसिस गरेको छ ।
त्रि वि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्प राज जोशीलाई नतिजा प्रकाशनमा भएको ढिलासुस्ती बारे हामीले प्रश्न गर्दा उनले दुई वर्ष अघि देखिको कोभिड महामारीको कारण देखाउँदै विद्यार्थीलाई पायक पर्ने ठाउँ बाट परीक्षा दिन लगाएकोले उत्तरपुस्तिका संकलन गर्न र मिलाउन समय लागेको ,शैक्षिक क्यालेन्डर फेरबदल गर्नु परेको, विद्यार्थीको अत्यधिक चाप,कर्मचारी अभाव, विद्यार्थीको रोल नम्बर हातले नै लेखेर मिलाउनु पर्ने भएकोले समय लाग्ने लगायतका कारणले नतिजामा ढिलासुस्ती भएको भन्दै लाचारीपूर्ण जवाफ दिएका छन् । त्यस्तै अबको एक दुई हप्ता भित्र सबै संकायको नतिजा प्रकाशन गर्ने तयारी रहेको उनले बताएका छन्। झट्ट सुन्दा उनको जवाफ चाहिँ “हात्ती आयो हात्ती फुस्सा” भन्ने उखान झैँ देखिन्छ। सँधै समयमै नतिजा प्रकाशन गर्छौँ भन्ने अनि बर्सौँ लगाउने।
परीक्षा लिन चाहिँ सक्ने अनि नतिजा चाहिँ समयमै दिन नसक्नाले त्रि वि प्रति विद्यार्थीहरूको नैराश्य बढ्दो छ भने विश्वसनीयता घट्दो छ । त्यसैले अब समयमै नतिजा कसरी प्रकाशन गर्न सकिन्छ भन्ने बारे त्रि वि ले सोच्नुपर्ने बेला आएको छ ।