काठमाडौँ- चाबहिलको सेन्ट लरेन्स कलेजले अभिमुखीकरण तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार राष्ट्रिय नाचघर जमलको हलमा आयोजित एक कार्यक्रमका बिच सेन्ट लरेन्सले कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई अभिमुखीकरणका साथै परामर्श प्रदान गरेको हो ।
सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालको अध्यक्षता तथा काठमाडौँ महानगरपालिका वडा न ७ का वडा अध्यक्ष विमल कुमार होडाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौँ महानगर शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदी र उत्प्रेरक वक्ता रविन कटवाल विशेष अतिथिका रूपमा रहेका थिए। त्यस्तै सेन्ट लरेन्सबाट आफ्नो अध्ययन पूरा गरी हाल आ- आफ्नो क्षेत्रमा स्थापित डाक्टर, इन्जिनियर, पाइलट, सिए, अधिवक्ता, बैंक अधिकृत आदिलाई विशेष आकर्षणका रूपमा कलेजले प्रस्तुत गरेको थियो भने सेन्ट लरेन्सका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो ।


निकै आकर्षक स्वागत नृत्य सहित सुरुवात भएको कार्यक्रमलाई कलेजका प्लस टु कोअर्डिनेटर तथा कार्यक्रम सञ्चालक मुकुन्द ढुंगानाले कलेजको छोटो परिचय सहित औपचारिकता दिएका थिए । विगत २४ वर्षदेखि प्लस टु मा निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको कलेजले कार्यक्रम मार्फत २५ औँ ब्याचलाई स्वागत गरेको उनको भनाई थियो ।
स्वागत मन्तव्य राख्दै कलेजका प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदीले उपस्थितिका लागि सबैलाई धन्यवाद दिए । आफ्नो रुचिको विषय हृदय देखिनै रोजेकाले सबै विद्यार्थी सफल हुन्छन् भन्ने उनको विश्वास थियो । छनोट गरिसकेको विषय कठिन लागेमा वा आफूलाई अर्को विषय अझै उपयुक्त छ भन्ने लागेमा कलेजले केही दिनका लागि विषय परिवर्तनका लागि सहयोग पनि गर्ने उनले उल्लेख गरे। सेन्ट लरेन्स आएका विद्यार्थीले आफ्नो उज्ज्वल भविष्य निर्माणका लागि सही कलेजको छनोट गरेको उनले बताए । पढाई बाहेक पनि थुप्रै गतिविधि कलेजमा गर्न सकिने र आफ्ना विद्यार्थीको व्यक्तित्व विकासका लागि पनि कलेज सधैँ तयार रहेको उनको भनाई थियो ।

हाल कक्षा १२ मा अध्ययनरत एलिसा श्रेष्ठले आफ्नो अनुभव बाँड्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिन्। १ वर्ष अघि आफू पनि के होला? कस्तो होला भन्ने दुबिधा सहित कलेज प्रवेश गरेको र आज कलेजले आफूलाई गरिरहेको मार्गनिर्देशन बाट पूर्ण रूपमा सन्तुष्ट रहेको उनको भनाइ थियो। कलेजले शिक्षा मात्रै नभई व्यक्तित्व विकासका लागि पनि काम गर्ने र थुप्रै अवसर दिने हुँदा सेन्ट लरेन्स सँगको प्रत्येक दिन अर्थपूर्ण हुने उनको भनाइ थियो।
आफ्ना जिज्ञासाहरू सहितको प्लस टु छनोटको अनुभव बाँड्न मञ्चमा उक्लिएकी कक्षा ११ कि आयुषा तिमल्सिनाले उत्कृष्ट प्लस टु कलेज छनोटका लागि के गर्ने, कहाँ जाने भन्ने दुबिधाका बिच सेन्ट लरेन्स आइपुगेको बताइन् । शिक्षा सँगै चौतर्फी विकासको अवसर दिने कलेज खोज्दै गर्दा आइपुगेको र शैक्षिक वातावरण, सुलभ शुल्क र व्यक्तित्व विकासका सम्भावनाहरूले आफ्नो खोजी सेन्ट लरेन्समै रोकिएको उनले बताइन् । आफ्ना शिक्षकहरूले भविष्य निर्माणको सुन्दर सपना पूरा गर्न सहयोग गर्नेछन् भन्ने अपेक्षा सहित त्यसका लागि आफूले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

सबै शिक्षकहरूको प्रतिनिधित्व गर्दै आफ्ना भनाइ राखेका शिक्षक सरोज महर्जनले सबैलाई स्वागत गर्न पाउँदा आफू हर्षित भएको बताए। ‘तपाईँको सफलता हाम्रो प्रतिबद्धता’ एउटा नारा मात्रै नभई कलेजको प्रमुख उद्देश्य भएको हुँदा कलेजले माछा दिने होइन माछा मार्ने सीप दिने उनको भनाइ थियो । नेपालका राम्रा प्लस टु कलेजहरू मध्य सेन्ट लरेन्स एक भएकाले यो कलेज छान्नु विद्यार्थीको जीवनका थोरै राम्रा निर्णयहरू मध्य एक भएको उनले उल्लेख गरे । कलेजले हालसम्म विभिन्न बोर्डमा प्राप्त गरेका उपलब्धि र उत्कृष्ट नतिजाको विवरण पनि उनले जानकारी गराएका थिए।

कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले सेन्ट लरेन्स परिवारमा सबैलाई स्वागत गर्दै उत्कृष्ट प्लस टु कलेज छनोट गरेकोमा बधाई दिए । मन्टेश्वरी देखि उच्च शिक्षाको तह सम्म अध्यापन हुने करिब ३५०० विद्यार्थीको समूहमा एक बन्नु आफैँमा गौरवको विषय भएको उनको भनाइ थियो । कलेज विद्यार्थीको उज्ज्वल भविष्यका लागि सधैँ प्रतिबद्ध रहेको र त्यसका लाग ११ वटा क्लब मार्फत अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको उनले उल्लेख गरे। यस्ता क्लब गतिविधिहरूमा पनि शिक्षक सहजकर्ता मात्रै हुने र विद्यार्थीले नै सञ्चालन गर्ने हुँदा विद्यार्थीका प्रतिभाहरू प्रस्फुटित हुने अवसर मिल्ने उनको धारणा थियो। कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको यो दुई वर्ष जीवनकै सम्झनलायक वर्षहरू हुने उनले बताए।
कार्यक्रमका विशेष अतिथि काठमाडौँ महानगर शिक्षा विभाग प्रमुख राम प्रसाद सुवेदीले आमन्त्रणका लागि आयोजकलाई धन्यवाद दिँदै सामुदायिक विद्यालय मात्रै हाम्रो जिम्मेवारी हो भन्ने सरकारी दृष्टिकोण परिवर्तनका लागि आफू लागिपरेको बताए। कार्यालयमा रहेर करिब ३ वर्ष काम गर्दै गर्दा आफूलाई सामुदायिकले मात्रै विद्यार्थीको चाप धान्न नसक्ने रहेछ भन्ने महसुस भएको बताए । आजको दिनमा २ लाख विद्यार्थी संस्थागत शैक्षिक संस्थामा भर्ना हुँदा ५० हजार मात्रै सामुदायिकले लिने गरेको उनको भनाइ थियो । संस्थागत विद्यालयहरूलाई पनि सँगै लिएर जाने र न्यूनतम मापदण्ड पूरा नगर्नेलाई बन्द गराउने गरी महानगर अघि बढिरहेको पनि उनले बताए । संस्थागत विद्यालयले उत्पादन गरेका जनशक्ति विदेश पलायन हुन्छन् भन्ने आरोप सुनिने गरेको भन्दै उनले देशमै काम गरी खान सक्ने जनशक्ति उत्पादन गर्नेतिर लाग्न सुझाव दिए।

कलेजले उक्त अवसरमा विभिन्न क्षेत्रमा स्थापित र अब्बल ठहरिँदै कलेजलाई गौरवान्वित बनाएका पूर्व विद्यार्थीलाई सम्मान गरेको थियो । बंगलादेश बाट पुरा छात्रवृत्ति पाएर अध्ययन पुरा गरेका एमबिबिएस डा. अभिषेक कुमार शाह, इन्जिनियर विकल्प दंगाल, पाइलट बबिन तामाङ, सिए विदुर चन्द्र ढुंगाना, अधिवक्ता कुमार दंगाल, नेपाल राष्ट्र बैङ्ककी अधिकृत प्रतिमा भट्टराई लगायत पूर्व विद्यार्थी सम्मानित हुँदा हाल कक्षा १२ मा अध्ययनरत अन्जली थापालाई मिस प्लस टु उपाधि जितेबापत कलेजले सम्मान गरेको थियो। त्यस्तै विभिन्न क्लबमा रहेर उत्कृष्ट भूमिका निभाएका विद्यार्थीहरूलाई पनि कलेजले सम्मान गरेको थियो।
कार्यक्रममा विशेष प्रस्तुति दिँदै विद्यार्थीलाई उत्प्रेरणा तथा परामर्श प्रदान गरेका उत्प्रेरक वक्ता रबिन कटवालले तारिफयोग्य प्रस्तुति दिएका थिए। जीवनमा सफल हुन र संसार जित्न चाहिने हिम्मतका लागि उत्प्रेरणा प्रदान गरेको बताउने कटवालले पनि प्लस टु मध्य उत्कृष्ट कलेजमा भर्ना पाएको भन्दै विद्यार्थीलाई बधाई दिएका थिए । कोकाकोला र पानीको अति सान्दर्भिक उदाहरण बाट प्रस्तुति सुरु गरेका उनले शान्त बन्ने, विकल्प नभएको चिज बन्ने व्यक्ति नै सफल हुने धारणा राखेका थिए । धैर्यता नै विद्यार्थीका लागि अपरिहार्य तत्त्व भएको हुँदा जीवनमा धैर्यता नगुमाउन उनले विद्यार्थीलाई सुझाव दिए। थुप्रै कठिनाइ र चुनौती पार गर्दै आफ्नो क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरूको प्रशस्त उदाहरण अनि उनीहरूको संघर्ष अनि सफलताको कथा प्रस्तुत गरेका कटवालले विद्यार्थीहरूलाई नयाँ ऊर्जा प्रदान गरेका थिए ।


कार्यक्रमका प्रमुख अतिथि विमल कुमार होडाले देशले आजका विद्यार्थीहरू बाट धेरै आशा गरेको बताए । उनले ईश्वरमा आस्था राख्नुपर्ने र आफ्ना आमा, बुबा र गुरुलाई ईश्वर सरहको सम्मान दिनुपर्ने उल्लेख गरे । सेन्ट लरेन्सका शिक्षकहरूले अर्को अभिभावक बनेर आफ्ना विद्यार्थीलाई सत्कार्यमा लगाउने आफ्नो विश्वास रहेको उनको भनाइ थियो । उनले कलेज तथा विद्यार्थी दुवैको उज्ज्वल भविष्यको कामना गरे ।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा सेन्ट लरेन्स कलेजका अध्यक्ष केशव प्रसाद दंगालले कक्षा सुरु हुनुभन्दा अगाडी सफलतापूर्वक प्लस टु तह पार गर्नका लागि विद्यार्थीलाई मार्गदर्शन दिन र उत्प्रेरणा प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए। पूर्व मेची देखि पश्चिम महाकाली सम्म देशका ७७ वटै जिल्ला बाट आफ्नो उज्ज्वल भविष्यका लागि सेन्ट लरेन्स कलेज छानेका विद्यार्थीलाई यो निर्णय अति उपयुक्त भएको भन्दै उनले बधाई दिए। कलेजले उनीहरूको अन्तर्निहित प्रतिभाको विकास गर्दै देशलाई योगदान दिन सक्ने जनशक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। सेन्ट लरेन्स एउटा फूलबारी भएको र त्यस फूलबारीमा राम्रो फुल फुल्नका लागि चाहिने राम्रो माटो, माली, उर्वर वातावरण आदि सबै भएका कारण सेन्ट लरेन्स उत्कृष्ट शैक्षिक गन्तव्य भएको उनले बताए। सेन्ट लरेन्स पढेर आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेका विद्यार्थीहरू उदाहरणका रूपमा अगाडी नै रहेको भन्दै उनले कलेजले आफ्नो गुणस्तरलाई भोलिको दिनमा पनि कायम राख्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरे।


उक्त कार्यक्रमको थप फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस्