Matra Education आइतबार, साउन १० २०८३

टेक्सस इन्टरनेसनल कलेजको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

टेक्सस इन्टरनेसनल कलेजको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र २ २०७९


काठमाडौँ- चाबहिल स्थित टेक्सस इन्टरनेसनल कलेजले स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार चाबहिलको स्मार्ट प्यालेसमा आयोजित एक औपचारिक कार्यक्रमका बिच टेक्ससले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो ।

टेक्सस इन्टरनेसनल कलेजका प्रिन्सिपल भेस राज पोखरेलको अध्यक्षता तथा अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता तथा दर्शनशास्त्री डा चिन्तामणि योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा टेक्सस इन्टरनेसनल कलेजका शिक्षक तथा विद्यार्थीहरूको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा करिब ६०० नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको टेक्सस प्रशासनले जनाएको छ ।

उपस्थित विद्यार्थीलाई स्वागत गर्दै टेक्सस इन्टरनेसनल कलेजका उपप्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले टेक्सस छनोट गरेर विद्यार्थीले उपयुक्त निर्णय गरेको बताए । मन्टेश्वरी देखि मास्टर्स सम्म पढाई हुने शैक्षिक संस्था भएका कारण टेक्ससले आफ्ना विद्यार्थीको बिदाइ मास्टर्स पछि मात्रै गर्ने उनको भनाई थियो । ४०० भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेको र आफ्ना विद्यार्थी सफल भए मात्रै उनीहरूले आफ्नो जित भएको सम्झने भन्दै श्रेष्ठले सफलताको भर्‍याङका रूपमा कलेजलाई लिन सुझाव दिए । कतिपय विद्यार्थी आज पनि आफ्नो धेरै वा थोरै जिपिए आएका कारण त्यसैमा अलमलिएको तर्फ संकेत गर्दै उनले यो जिपिए त्यही एउटा निश्चित तहको मात्रै भएकाले चिन्ता नगर्न सुझाए । जीवनमा सफल मात्रै नभई असल बन्न सके मात्रै इतिहासमा नाम रहने भन्दै उनले त्यसका लागि विद्यार्थीको चौतर्फी विकास हुनुपर्ने र टेक्ससको उद्देश्य त्यही भएको उल्लेख गरे । उनले विद्यार्थीको टेक्ससको पढाई अर्थपूर्ण रहने विश्वास सहित सबैलाई टेक्सस परिवारमा स्वागत गरे।

कार्यक्रमको मुख्य आकर्षण बनेका प्रमुख अतिथि डा योगीले नव आगन्तुक विद्यार्थीलाई सफल जीवन बनाउने बारे महत्त्वपूर्ण सुझावहरू दिए । कुनै पनि वस्तु नझुकेमा त्यो भाँचिनुपर्ने भन्दै उनले नम्र र भद्र बन्न सुझाए । आफू संसारका धेरै सहर र प्रतिष्ठित शैक्षिक संस्थाहरूमा वक्ता बनेर पुग्ने गरेको भन्दै उनले टेक्सस कलेज नेपालका राम्रा कलेजहरू मध्य एक भएको र आफूलाई मन पर्ने कलेज भएका कारण २ महत्त्वपूर्ण कार्यक्रमहरू छोडेर उपस्थित भएको बताए । ‘ओरेन्टेसन’ अर्थात् अभिमुखीकरण कार्यक्रमको अर्थ सविस्तार वर्णन गरेका उनले पूर्व तिर फर्क, आफूलाई बुझ भन्ने सन्देश दिन यस्ता कार्यक्रम राखिने धारणा राखे । आजको मानिसको बाहिर उज्यालो देखिए पनि अहंकार र कुण्ठाले भित्र अँध्यारो बाँकी रहने हुँदा आत्मिक रूपमा पहिले उज्यालो हुन सुझाए। आमा, बुबा र आचार्यलाई सम्मान गर्ने अनि आफ्नो संस्कृति बुझ्ने मानिस नै सफल हुने भन्दै उनले त्यस प्रति ध्यान दिन विद्यार्थीलाई अनुरोध गरे । मन्तव्यको अन्तिम तिर उनले दिएको चङ्गा र धागोको कथाको उदाहरण रोचक र सन्देशवर्द्धक थियो । मन्तव्य अवधिभर निरन्तर तालीको समर्थन पाएका योगीले कार्यक्रममा विशेष उत्साह भरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै हाल कक्षा १२ मा अध्ययनरत दीक्षा भट्ट र दिपिन ढकालले कलेज बारे आफ्नो धारणा राखेका थिए । उनीहरूले एक वर्ष अघि आफूहरू कलेजमा स्वागत हुँदै गर्दा के होला ? कस्तो होला? भन्ने कौतुहलता रहेको र पढाई सुरु गरेपछि सोचे भन्दा अझै स्तरीय शिक्षा कलेजबाट पाएको हुँदा ढुक्क हुन नव आगन्तुक विद्यार्थीलाई सुझाव दिए । टेक्सस कलेज छनोट गर्नु आफूहरूको सबैभन्दा महत्त्वपूर्ण निर्णय भएको उनीहरूको भनाई थियो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि टेक्सस कलेज गुणस्तरको पर्याय बनेकै कारण निरन्तर सफलताको यात्रातिर लम्किरहेको धारणा राखे । आज टेक्सस कलेजका उत्पादनहरू हरेक क्षेत्रमा सफल हुनु नै यसको प्रमाण भएको उनीहरूको भनाइ थियो ।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा टेक्ससका प्रिन्सिपल भेस राज पोख्रेलले आफ्नो सुन्दर भविष्यको मार्गचित्र कोर्न टेक्सस सँग आबद्ध भएका सबै विद्यार्थीलाई स्वागत गरे। कलेजले आजको समय सुहाउँदो विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नका लागि विभिन्न प्रयोगात्मक पद्धति अवलम्बन गर्दै शिक्षण गरिरहेको भन्दै विद्यार्थीको प्रतिभालाई उसको भविष्य बनाउनु कलेजको प्रमुख उद्देश्य भएको बताए । टेक्ससमा कार्यक्रम मार्फत स्वागत भएका सबै विद्यार्थी आफ्नो लक्ष्यमा पुग्न सफल हुने विश्वास सहित उनले कार्यक्रम समापन गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड