काठमाडौँ- पटक पटक दिएको अल्टिमेटम र ज्ञापन पत्रका वापजुद आफ्ना मागहरू पुरा नभएको भन्दै सडक आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीहरूको आन्दोलनले कडा रूप लिने देखिएको छ। सरकारले आफूहरूसँग गरेका सहमति उल्लङ्घन गरेको र आफ्ना माग सम्बोधन नगरेको भन्दै उनीहरूले बिहीबार शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा तालाबन्दी गरेका छन्। हिजोबाट देशभरका विद्यालय कर्मचारीले शिक्षा तथा मानव स्रोत विकास केन्द्र अगाडि धर्ना दिइरहेका थिए ।
नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको अगुवाइमा यसअघि देखि नै आन्दोलन र विरोधका कार्यक्रमहरू हुँदै आएका थिए भने हिजोबाट धर्ना सुरु भएको थियो। तर माग सम्बोधन गर्ने तिर कुनै तदारुकता नदेखाएको भन्दै उनीहरूले बिहीबार केन्द्रको मूल गेटमै तालाबन्दी गरेका हुन्। आफूहरूको जायज माग सम्बोधन नभए हदैसम्मको आन्दोलनको विकल्प रोज्ने चेतावनी समेत उनीहरूले दिएका छन्।
सरकारले विद्यालय कर्मचारीको पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रु ३४,७३० मासिक तलब र दुई हजार रुपैयाँ महँगी भत्ता गरी जम्मा रु ३६,७३० दिनुपर्ने, विद्यालय सहयोगीलाई रु २४,२१० र महँगी भत्ता दुई हजार गरी रु २६,२१० दिनुपर्ने, शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी गर्नु पर्ने लगायतका मागहरू उनीहरूको छ।