काठमाडौँ- गत आर्थिक वर्षको बजेटमै बढेको तलब स्थानीय सरकारले दिन आनाकानी गरेपछि देशभरका इसिडि शिक्षक र विद्यालय कर्मचारी गत वर्ष आन्दोलित बने। आन्दोलनको उपलब्धि स्वरूप कतिपय स्थानीय तहले तलब थपेर दिए भने कतिपयले स्रोत नभएको भन्दै आनाकानी गरे। तर अब भने संघिय सरकारले नै तलब थपेर दिने भएको छ।
आर्थिक वर्ष २०७९/८० मा अर्थ मन्त्रालयले बढाएको दुई हजार रुपैयाँ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसँगै अब तलब बढ्ने भएको हो । बैठकले यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गरेको हो ।
बिहीबार (साउन २६ गते) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आइतबार सार्वजनिक गर्दै सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले इसीडी शिक्षकको पनि नयाँ तलबमान स्वीकृत गरेको जानकारी दिएका थिए ।
अब इसीडी शिक्षकलाई संघीय सरकारले साउन महिनादेखि नै १० हजार रुपैयाँ मासिक तलब पठाउँछ । ७ हजार रुपैयाँ स्थानीय सरकारले दिनुपर्ने हुन्छ । इसीडी शिक्षकको मासिक तलब रु १७ हजार हो ।