काठमाडौँ- निजी विद्यालयहरूको छाता सङ्गठन म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा दोस्रो अन्तर विद्यालय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । हिजो मङ्गलवार सुरु भएको प्रतियोगिता आज फाइनल खेल सकिए सँगै सम्पन्न भएको हो। माफमा आबद्ध विद्यालयहरूको सहभागितामा आयोजित प्रतियोगितामा माफमा आबद्ध १५ विद्यालयहरूबाट १५ टिमले सहभागिता जनाएका थिए।
धुम्बाराहीमा रहेको धन्वन्तरि फुटसलमा आयोजित प्रतियोगिता ग्रुप ‘ए’ देखि ‘डी’ सम्मको समूह चरणमा विभाजन गरी खेलाइएको थियो । समूह ‘ए’ अन्तर्गत गोल्डेन पिक हाइ स्कुल, क्याम्ब्रिज पब्लिक हाइ स्कुल, एडभान्स हाइ स्कुल र जगत् मन्दिर सेकेन्डरी स्कुल रहेका थिए । त्यस्तै समूह ‘बि’ अन्तर्गत पिस प्वाइन्ट बोर्डिङ स्कुल, नोबेल एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र इलिक्सर एकेडेमी रहेका थिए । यसैगरी समूह ‘सी’ अन्तर्गत शाम्भवी स्कुल, बेबिलोन नेसनल स्कुल , प्रस्फुटन इन्टरनेसनल एकेडेमी र समूह ‘डी’ अन्तर्गत व्हिज किड्ज इन्टरनेसनल स्कुल, ज्ञान निकेतन सेकेन्डरी स्कुल, न्यु अरुणोदय स्कुल र लाइसियम मोडेल स्कुल रहेका थिए ।
समूह चरणको खेल, नकआउट राउन्ड हुँदै सेमिफाइनल सम्म आइपुग्दा बेबिलोन र गोल्डेन पिक तथा नोबेल र लाइसियम बिच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा नोबेल एकेडेमी नयाँ बानेश्वरले प्रथम स्थान हासिल गर्यो भने बेबिलोन नेसनल स्कुल शान्तिनगरले द्वितीय स्थान सुरक्षित गर्यो। त्यस्तै लाइसियम मोडेल स्कुल सिफल र गोल्डेन पिक हाइ स्कुल सरस्वतीनगरले तृतीय स्थानमा चित्त बुझाए।

साम्भवी स्कुलका विकास मुखियाले बेस्ट प्लेयर उपाधि पाउँदा नोबेल एकेडेमीका अनुज पाण्डेले हाइएस्ट स्कोररको रेकर्ड बनाए। त्यस्तै बेबिलोन नेसनल स्कुलका अनिक साहुखल बेस्ट गोलकिपरका रूपमा पुरस्कृत भए।
माफले आजै विशेष समापन समारोहको आयोजना गरी विजयी टिमलाई पुरस्कृत गरेको थियो । विजयी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो। राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का समापन समारोहको प्रमुख अतिथिका रूपमा रहेका थिए।