काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले आफूहरूलाई झुक्क्याएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीले सरकारले शिक्षक महासंघ र शिक्षा मन्त्रीबिच भएको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन्।
मन्त्री स्तरीय निर्णय बमोजिम स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९–८० मा महासङ्घसँग भएको सम्झौता अनुसार आफ्नो सेवा सुविधा उल्लेख नगरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
परिषद्ले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । परिषद्ले विज्ञप्ति मार्फत कार्यक्रम कार्यान्वयन पुस्तिका तत्काल संशोधन गरी सहमति बमोजिमको विद्यालय कर्मचारीहरूको सेवा सुविधा कार्यान्वयनमा नआए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको हो ।
