काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले दक्ष शिक्षक उत्पादनका लागि दुई फरक संस्था सँग सम्झौता गरेको छ। बुधवार बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा आयोजित एक औपचारिक कार्यक्रममा प्याब्सनले उक्त प्रयोजनका लागि आइटी फेडेरेसन नेपाल तथा लाइब्रेरी डेभलपमेन्ट फोरम सँग साझेदारीको सम्झौता गरेको हो।
कार्यक्रम बारे जानकारी दिँदै प्याब्सन केन्द्रीय समितिका अध्यक्ष डिके ढुङ्गानाले शैक्षिक रूपान्तरणका लागि प्याब्सनले काम गर्दै आएको र त्यसैको निरन्तरता स्वरूप विभिन्न संस्थाहरू सँग साझेदारी गर्दै तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए। तिन वर्षसम्म निरन्तर लाइब्रेरी विकास र आइटी सम्बन्धी तालिम सञ्चालन गर्ने र त्यस मार्फत दुवैमा पाँच/पाँच हजार दक्ष शिक्षक उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो। त्यस्तै समय र जनशक्तिले साथ दिएमा संस्था बाहिरका शिक्षकहरूलाई पनि तालिम दिने उद्देश्य रहेको उनले बताए। प्याब्सन केही फरक ढङ्गले हिँड्न खोजेको र एकेडेमीक एक्सिलेन्सका लागि काम गर्न खोजेको उनको दाबि थियो।
लाइब्रेरी फेडेरेसनका अध्यक्ष यज्ञराज भट्टले नेपाली शिक्षा प्रणाली परीक्षा मुखी मात्रै भएको र ज्ञान सिप अनि पढ्ने बानीको विकास हुन नसकेको धारणा राखे। अन्य मुलुकमा लाइब्रेरीको परिकल्पना पहिले नै गरेर मात्र विद्यालय बनाइने भए पनि नेपालमा भने लाइब्रेरीलाई प्राथमिकतामा नराखिएको उनको भनाई थियो। आजको दिनमा बढी सूचना हुने मान्छे नै धनी कहलिने र त्यसका लागि लाइब्रेरीको विकास गर्नुपर्ने हुँदा प्याब्सन सँगको यो सहकार्यले सार्थकता पाउने उनले बताए ।
त्यस्तै आइटी फेडेरेसन नेपालका अध्यक्ष राजु कुशवाहले शैक्षिक विकासका लागि ऐतिहासिक सम्झौताको दिन भएकाले आजको दिनलाई आफूले स्मरणीय दिनका रूपमा लिएको बताए। कोरोना पछि कम्तीमा आइटिको महत्त्व बुझाउँदै हिँड्नु पर्ने दिनको अन्त्य भएको भन्दै उनले आइटी बिना कुनै पनि शैक्षिक संस्था र देश विकासको कल्पना गर्न नसकिने धारणा राखे। आफ्नो संस्थाको मुख्य उद्देश्य नै आइटीमा कम गर्ने जनशक्तिको हकहित र आइटीको विकास रहेको भन्दै उनले आवश्यकताका आधारमा तालिम दिनका लागि संस्था तयार रहेको बताए। प्याब्सन सँगको सहकार्यले शिक्षण संस्थाहरूले प्रविधिमा फड्को मार्ने उनको विश्वास थियो।
कार्यक्रममा मात्र एजुकेसन सँग कुरा गर्दै प्याब्सनका महासचिव आरबी कटुवालले आवश्यकता अनुसार सरकारी स्कुलका शिक्षकहरूका लागि पनि तालिमको व्यवस्था मिलाइने बताए।
कार्यक्रमको अन्त्य तिर धन्यवाद ज्ञापन गर्दै प्याब्सनका उपाध्यक्ष डिआर ढकालले आफ्नो विद्यार्थीकालको स्मरण सुनाउँदै पुस्तकालय र डिजिटलाइजेसनको महत्त्वको चर्चा गरे। मोबाइल सबै थोकको गुरु भएको समयमा पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम दिन खोजिनु अति महत्त्वपूर्ण कदम भएको उनको भनाइ थियो। सम्झौता पश्चात् निरन्तर काम हुने र त्यही अनुपातमा अनुगमन हुने आफ्नो अपेक्षा रहेको भन्दै उनले प्याब्सनका तर्फबाट उपस्थित सबैलाई धन्यवाद दिए।
