Matra Education आइतबार, साउन १० २०८३

रिभेरामा भानु जयन्ती विशेष अन्तर विद्यालय कविता कृति वाचन प्रतियोगिता सम्पन्न

रिभेरामा भानु जयन्ती विशेष अन्तर विद्यालय कविता कृति वाचन प्रतियोगिता सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, साउन ५ २०७९


काठमाडौँ- भानु प्रतिष्ठान र रिभेरा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा अन्तर विद्यालय भानुभक्त आचार्यका कविता कृति वाचन कार्यक्रम सम्पन्न भएको छ।   बिहीबार मैजुबहाल चाबहिल स्थित रिभेरा इन्टरनेसनल एकेडेमीको हलमा आयोजित प्रतियोगितात्मक कविता वाचन कार्यक्रममा विभिन्न विद्यालयका ३० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । भानु प्रतिष्ठान सँगको सहकार्यमा हरेक वर्ष भानु जयन्तीका दिन गरिँदै आएको कार्यक्रम यो पटक परीक्षाका कारण केही ढिलो भए पनि आज सञ्चालन भएको थियो। तर कार्यक्रम भने २०९ औँ भानु जयन्तीकै अवसरमा आयोजना गरिएको आयोजकले जनाएको छ ।

भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा ब्रतराज आचार्यको अध्यक्षता र प्रा.डा रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा स्थापित नेपाली कविहरू, भानु प्रतिष्ठानका प्रतिनिधिहरू, प्याब्सन, माफका प्रतिनिधिहरू सहित विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरू तथा विद्यार्थीहरूको भव्य उपस्थिति रहेको थियो । त्यस्तै कवि तथा साहित्यकार द्वय डि. पि. अर्याल तथा प्रभा भट्टराइले प्रतियोगितामा निर्णायकको भूमिका निभाएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै भानु प्रतिष्ठानका महासचिव डि. पि. अर्यालले नेपाली भाषा र साहित्यको वृत्ति र विकासमा भानुले पुर्‍याएको योगदानको चर्चा गरे । उनले भानुको योगदान हामीले बिर्सन नहुने भन्दै आफ्नो भाषा र साहित्यको संरक्षणका लागि निरन्तर लाग्न सबैलाई आग्रह गरे।

प्रमुख अतिथि ज्ञवालीले आफ्नो पहिलो कविता वाचनको अनुभव सुनाउँदै प्रयास निरन्तर जारी राखे सफल भइने सन्देश विद्यार्थीलाई दिए । संसारमा फरक काम गर्ने मान्छे नै सफल भएको भन्दै उनले भानुभक्तले त्यही काम गरेको हुँदा आजको पुस्ताले उनलाई सम्झिएको बताए। उनका अनुसार भानुभक्तले चेतना विकास गर्नुका साथै हाम्रो आफ्नो पहिचान स्थापित गरेका छन् । उक्त अवसरमा उनले ‘भानुभक्तको चिठी’ शीर्षकको कविता वाचन गरेर पनि सुनाएका थिए ।

कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले पनि भानुको सम्झनामा कविता वाचन गरेका थिए भने कार्यक्रम आयोजना गरेर भानुभक्तको योगदान स्मरण गराएको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए।

कार्यक्रमको अन्तिम तिर धन्यवाद ज्ञापन गर्दै रिभेरा इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल प्रज्वल कोइरालाले कार्यक्रम सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिए। यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गरिने हुँदा त्यसमा पनि सबैको साथ र सहयोग रहने उनको विश्वास थियो।

उक्त प्रतियोगितात्मक कविता वाचन प्रतियोगितामा प्रतियोगी विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यद्वारा रचित कविता वाचन गरेका थिए। खरो देखिएको प्रतिस्पर्धामा नेपाल मेगा स्कुलकी छात्रा आयुशा लम्सालले प्रथम स्थान हासिल गरिन्। त्यस्तै ज्ञान निकेतन स्कुलकी पूर्णिमा चौधरी द्वितीय हुँदा बराबरी अंकका साथ बेबिलोन स्कुलका अनीश खड्काले पनि त्यही स्थान सुरक्षित गरे। विट्ज किड्स स्कुलकी ग्रिश्मा धमलाले तृतीय स्थान सुरक्षित गर्दा पिस प्वाइन्ट स्कुलकी रेशु श्रेष्ठ र बेबिलोन स्कुलकी प्रकृति कुमारी शाहले सान्त्वना पुरस्कार पाए।

कार्यक्रम समापन गर्दै सभापति प्रा. डा. ब्रतराज आचार्यले नेपाली भाषा साहित्यको बिकासमा भानुभक्त आचार्यको योगदानको चर्चा गरेका थिए।

कार्यक्रममा अघिल्लो वर्षको पुरस्कार वितरण पनि गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड