काठमाडौँ- निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले विगत वर्षहरूमा झैँ यस वर्ष पनि गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । वैदिक संस्कृतिमा माता, पिता र गुरुलाई समान स्थान दिइएको हुँदा गुरुहरूको सम्मान गर्ने प्रचलन पछिल्लो पुस्ताले सिकोस् र संस्कृति हस्तान्तरण होस भन्ने मूल अभिप्रायले कार्यक्रम आयोजना गरिएको थियो। गत असार २९ गते गुरु पूर्णिमाको दिन धुम्बाराहीको कार्की पार्टी प्यालेसमा प्याब्सकका अध्यक्ष गेन्द्र लामाको अध्यक्षता र नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगन थापाको प्रमुख आतिथ्यमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेशनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल, नेशनल प्याब्सनका केन्द्रीय, जिल्ला र विभिन्न नगर समितिका पदाधिकारीहरू अतिथिका रूपमा रहेका थिए भने प्याब्सकमा आबद्ध ४० भन्दा बढी विद्यालय, विद्यालय सञ्चालकहरू र त्यहाँ कार्यरत शिक्षक शिक्षिकाहरू गरी करिब ५०० जना शिक्षाकर्मीहरूको सहभागिता रहेको थियो। प्याब्सकमा आबद्ध विभिन्न विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरूको सांस्कृतिक र मनोरञ्जनात्मक प्रस्तुतिहरूले कार्यक्रममा अझै बढी रौनकता छाएको थियो। त्यस्तै संस्थाले उक्त अवसरमा उत्कृष्ट शिक्षक शिक्षिकाहरूलाई सम्मान पनि गरेको थियो ।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै प्याब्सकका अध्यक्ष गेन्द्र लामाले कार्यक्रम नेपाली संस्कृतिको निरन्तरता भएको प्रतिक्रिया दिए। कुनै पनि मानिसको जीवनमा गुरुको भूमिका अहम् हुने हुँदा अन्धकार बाट ज्ञानको ज्योति तिर लाने गुरुको महत्त्व बुझाउन र निरन्तर कर्मशील बनेर ज्ञान बाँडेका शिक्षक शिक्षिकाहरूलाई सम्मान गर्नका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाई थियो। प्याब्सक शैक्षिक गतिविधिमा सधैँ सक्रिय रहेको र आगामी दिनमा पनि यो जारी रहने लामाको विश्वास छ।