Matra Education आइतबार, साउन १० २०८३

प्रश्नपत्रमा बदमासी गर्ने शिक्षकहरूमाथि त्रिविको कारबाही, विवादित परीक्षा पुनः लिइने

प्रश्नपत्रमा बदमासी गर्ने शिक्षकहरूमाथि त्रिविको कारबाही, विवादित परीक्षा पुनः लिइने

  • मात्र एजुकेशन
  • बिहिबार, असार ३० २०७९


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालित परीक्षाका विभिन्न विषयहरुको प्रश्नपत्रहरुको सम्बन्धमा विवाद उत्पन्न भएपछि त्रिवि कार्यकारी परिषदले छानविन समिति गठन गरेको थियो ।

उक्त छानविन समितिले दिएको प्रतिवेदनअनुसार यसअघि लिइएको परीक्षा रद्द गरी साउन १ गते सञ्चालन गर्न त्रिवि कार्यकारी परिषदको २७ गतेको बैठकले निर्णय गरेको हो । साथै प्रश्न निर्माण गर्ने शिक्षकलाई ३ वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने भनी गरिएको निर्णयलाई परिषदले अनुमोदन गरेको छ ।

निज शिक्षकले त्रिवि अन्तर्गतका कुनै पनि आंगिक क्याम्पसहरुमा तीन वर्षसम्म प्राध्यापन कार्यमासमेत गर्न पाउने छैनन् । उक्त निर्णयको जानकारी डीनको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खु र उक्त शिक्षक कार्यरत क्याम्पसमा समेत गराउने निर्णय भएको छ । यस्तै बीबीए छैठौं सेमेस्टरको एसओसी २०२ नेपलिज सोसाइटी एन्ड पोलिटिक्स विषयको परीक्षाको प्रश्न निर्माणकर्ता शिक्षकले बुझाएको प्रश्नपत्रमा पनि गडबडी देखिएको छ ।

शीर्षक ‘एसओसी २०२ नेपलिज सोसाइटी एन्ड पोलिटिक्स’ भए पनि सो भित्रका प्रश्नहरु भने ‘एसओसी २०१ सोसोलोजी फर विजनेस’ सँग सम्बन्धित रहेको पाइएको छ । उक्त प्रश्न निर्माण गर्ने शिक्षकलाई ३ वर्षसम्म डीन कार्यालयका परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नगराउने भनि गरिएको निर्णयलाई अनुमोदन गरिएको छ ।

निज शिक्षकले पनि त्रिवि अन्तर्गतका कुनै पनि आङ्गिक क्याम्पसहरुमा तीन वर्षसम्म प्राध्यापन कार्यमासमेत संलग्न हुन पाउने छैनन् । शिक्षकले त्रिविमा बुझाएको प्रश्नपत्र डीन कार्यालयको प्रश्न भण्डारमा नै रहेको अवस्थामा आफ्नो एक पाठ्यपुस्तकमा नमुना प्रश्नपत्र भनि हुवहु प्रकाशित गरेको पाइएको छ ।

यसैगरी शंकरदेव क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकले क्याम्पसको यसै शैक्षिक सत्रको प्रिबोर्डमा बजारमा प्राप्त पाठ्यपुस्तकबाट हुवहु प्रश्न उतार गरी सोधेको पाइएको हुँदा निज शिक्षकलाई सचेत गराउने निर्णय भएको छ ।

निजहरुलाई ३ वर्षसम्मका लागि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कुनै पनि परीक्षामा सलग्न नगर्न नगराउन व्यवस्थापन डीनको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खु र निज कार्यरत क्याम्पसलाई निर्देशन दिने निर्णय गरेको त्रिविले जनाएको छ ।

व्यवस्थापन सङ्काय अन्तर्गतको परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएका समस्या तथा कमी कमजोरीहरुको विस्तृत अध्ययन तथा छानविन गरी राय सुझाव पेश गर्न प्राडा भोजराज अर्यालको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत भएको छ ।

साथै त्रिविका विभिन्न परीक्षामा सोधिने प्रश्नहरुको निर्माण गर्दा विगतका परीक्षाहरूमा सोधिएका प्रश्नहरु के–कति दोहोर्‍याउन मिल्ने वा नमिल्ने भन्ने सम्बन्धमा त्रिवि ऐन, नियम, विनियम तथा परीक्षा सम्बन्धी निर्देशिका कतै पनि स्पष्ट नीति निर्देशन नभएको त्रिविको केन्द्रीय परिषदले स्वीकार गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड