काठमाडौँ- सिभिल बैक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड वित्तीय कारोबार सँगै सामाजिक सेवामा पनि सक्रिय देखिएको छ। गत मंगलबार आफ्नो दशौँ वार्षिक उत्सव मनाएको कम्पनीले उक्त अवसरमा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी यो तथ्यलाई पुष्टि गरेको हो।
महोत्तरी जिल्लाको भगांहा नगरपालिका वडा नं ७ स्थित श्री शंकर राष्ट्रिय माध्यमिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई एक कार्यक्रम आयोजना गरी शैक्षिक सामाग्री वितरण गरिएको थियो । संस्था एघारौँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत प्राथमिक तहमा अध्ययनरत १७५ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा संस्थाको तर्फबाट हाथिलेट अनुगमन कार्यालयका अनुगमन अधिकृत विशाल तिवारी ,शाखा प्रमुख आनन्द लामा,विद्यालयका प्रधानाध्यापक विरेन्द्र सिंह, शिक्षक शिक्षिकाहरू, विद्यार्थी तथा संस्थाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक सिंहले वार्षिक उत्सवको अवसरमा संस्थाले विपन्न तथा न्यून आय भएका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण गरेकोमा संस्थाले पुण्यको काम गरेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए। कार्यक्रम समापन गर्दै अनुगमन कार्यालयका अनुगमन अधिकृत विशाल तिवारीले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गदै कार्यक्रम समापन गरेका थिए ।
कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै अनुगमन अधिकृत विशाल तिवारीले एउटा कर्पोरेट संस्थाले समाजमा रहेर कारोबार गर्दै गर्दा यो समाजमा योगदान गर्नुपर्छ भन्ने बुझेको र आफूहरू यही समाजको अंग भएकाले थोरै भए पनि विद्यार्थीलाई मद्दत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। संस्थाले वितरण गरेको शैक्षिक सामग्री लिँदै गर्दा अबोध बाल मुहारमा देखिएको मुस्कान नै संस्थाका लागि वार्षिक उत्सव मनाउने सबैभन्दा ठुलो तरिका रहेको उनको भनाइ थियो। यस्ता सामाजिक कार्यहरूमा संस्था भविष्यमा पनि निरन्तर सक्रिय रहने उनको भनाइ थियो।
सिभिल लघुवित्तले विपन्न तथा न्यून आय भएका मानिसहरूको आय स्तर वृद्धि गर्न वित्तीय कारोबारका साथै समय समयमा विभिन्न तालिम गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम समेत गर्दै आइरहेको छ ।





