Matra Education आइतबार, साउन १० २०८३

स्वस्थ सहर निर्माणका लागि फटकशिलामा गठन भयो ‘हेल्दी सिटी फोरम’

स्वस्थ सहर निर्माणका लागि फटकशिलामा गठन भयो ‘हेल्दी सिटी फोरम’

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख ३० २०८३


काठमाडौँ- बागमती प्रदेश सरकारको एक जिल्ला एक स्वस्थ सहर कार्यक्रमका लागि मेलम्ची नगरपालिका-१३ फटकशिलामा ‘हेल्दी सिटी फोरम’ गठन गरिएको छ। मंगलबार फटकशिला स्वास्थ्य चौकीको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बिच उक्त कार्यक्रम कार्यान्वयनका लागि समिति गठन गरिएको हो। समितिले मेलम्ची नगरपालिकालाई स्वस्थ सहर बनाउने अभियानमा आफ्नो वडालाई स्वस्थ बनाएर योगदान गर्ने जनाइएको छ।

मेलम्ची नगरपालिका १३ नं वडाका वडाध्यक्ष श्रीराम घोरासैनीको अध्यक्षतामा भएको भेलामा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र प्रमुख अतिथिका रूपमा रहेका थिए। सिन्धुपाल्चोककी जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईँ विशेष अतिथि रहेको उक्त कार्यक्रममा वडा सचिव विष्णु प्रसाद जोशी, जिल्ला जनस्वास्थ्य अधिकृत बबिता श्रेष्ठ, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू सहित अन्य आमन्त्रित अतिथिहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

‘हेल्दी सिटी फोरम’ कार्यक्रमका लागि मेलम्ची नगरपालिकाकी फोकल पर्सन सविना सापकोटाले सहजीकरण गरेको उक्त कार्यक्रमले २२ सदस्यीय वडा स्तरीय समिति गठन गरेको छ। यि २२ जना सहित वडा भित्र कार्यरत सबै स्वास्थ्य स्वयंसेविकाहरू समेत उक्त समितिको सदस्य रहने जानकारी गराइएको छ। सापकोटाले वडामा भएका स्वास्थ्य समस्याहरू पहिचान गरेर समयमै समाधान गर्न र विश्व स्वास्थ्य संगठनले तोकेका परिसूचक पूरा गर्न सहयोग पुर्‍याउन यो समितिले भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रमको उद्देश्य, कार्यसूची, गन्तव्य र समुदायले खेल्नुपर्ने भूमिका बारे विस्तृत प्रस्तुतीकरण दिएकी जिल्ला फोकल पर्सन श्रेष्ठले पालिकालाई स्वस्थ सहर बनाउने पहलका रूपमा यसलाई बुझ्न अनुरोध गरिन्। यसअघि नै काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले आवश्यक सबै मापदण्डहरू पुरा गरेर स्वस्थ सहर बनिसकेको जानकारी दिएकी उनले अब मेलम्चीलाई पनि त्यही मान्यता दिलाउने प्रयास कार्यक्रम मार्फत गरिने बताइन् । कार्यक्रमको पृष्ठभूमि, कार्यान्वयनका लागि गरिने प्राथमिक गतिविधि आदि बारे समेत चर्चा गरेकी उनले स्वस्थ सहर कार्यान्वयन निर्देशिका २०८२ बारे समेत अवगत गराइन्।

कार्यक्रमकी विशेष अतिथि बजगाईँ र स्थानीयको तर्फबाट शम्भु प्रसाद घोरासैनीले पनि कार्यक्रममा आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रमलाई छोटो सम्बोधन गरेका प्रमुख अतिथि मिश्रले स्वस्थ सहर निर्माणका लागि नगरपालिकाले आफ्नो भूमिका खेल्ने भन्दै त्यो भन्दा बढी कम समुदायले गर्नुपर्ने बताए। प्रदूषण नियन्त्रणका लागि काम गर्नुपर्ने, बाल विवाह र गर्भाधान कम गर्नुपर्ने लगायत विषयमा जोड दिएका उनले आगामी वर्षको बजेट बनाउँदा वडा र नगरले नै विचार स्वस्थ सहर कार्यक्रमलाई बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमका सभापति घोरासैनीले बजेट बनाउँदा वडाले परिसूचकहरू हेरेर गर्ने र यो कार्यक्रम सफल बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाए। उपस्थित सबैलाई धन्यवाद दिँदै उनले औपचारिक कार्यक्रम समापन गरे।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै फटकशिला स्वास्थ्य चौकीकी प्रमुख सुजाता आचार्यले स्वस्थ शहरको निर्माण हुनु भनेको स्वास्थ्य समस्या कम हुनु पनि भएको भन्दै यसले सिंगो गाउँलाई फाइदा पुग्ने बताइन्। स्वस्थ सहर कार्यक्रमले तोकेका परिसूचकहरू स्वास्थ्य संस्थाले गर्दै आएका काम सँग पनि जोडिएको भन्दै उनले ती परिसूचकहरूमा सुधार गर्दै जानु अबको लक्ष्य हुने बताइन। यस्ता समाज सुधारक कामका लागि समुदायले आवश्यक साथ दिने उनको विश्वास थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड