काठमाडौँ – शिक्षक सेवा आयोगले आफ्नो वार्षिक कार्यतालिका अनुसार सामुदायिक विद्यालयमा शिक्षक पदपुर्तिका लागि र अध्यापन अनुमतिपत्र लगायत विभिन्न विज्ञापन गरेपनि भौतिक पूर्वाधार र प्राविधिक जनशक्तिको अभाव देखिएको छ । अन्य निकायहरुमा भन्दा दरखास्त दिनेको संख्या उल्लेख्य भएपनि आयोगले दिने सेवामा भौतिक पूर्वाधार र प्राविधिक जनशक्तिको अभाव देखिएको हो ।
समुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा ४३ को उपधारा २ अनुसार शिक्षक सेवा आयोगलाई पहिचान गरीएकोे संस्था हो । यसका अतिरिक्त शिक्षा ऐन बमोजिम शिक्षक सेवा आयोगको गठन गरीएको छ । तर, आयोगले शिक्षाको गुणस्तर कायम गर्नका लागि योग्य, सक्षम शिक्षकहरु छनोट गरेर विद्यालयमा पठाउने व्यवस्था गरिएता पनि यसको भौतिक पूर्वाधार र प्राविधिक जनशक्ति पर्याप्त मात्रामा हुनुपर्नेमा थोरै जनशक्तिको भरमा काम गर्दै आएको छ ।
शिक्षक सेवा आयोगले यस अघि माध्यमिक, निम्न माध्यमिक प्राथमिक तहको शिक्षक पदपुर्ति गर्नको लागि खुला गरेको विज्ञापनमा अनलाइन मार्फत करीब २ लाख ५० हजार उम्मेदवारहरुले दरखास्त फारम भरेका थिए । आयोगले परीक्षा सञ्चालन गरी समान्य परीक्षाको नतिजा पनि प्रकाशन गरीसकेको छ ।
आफ्नो वार्षिक कार्यतालिका अनुसार माध्यामिक तह र निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको विज्ञापन प्रकाशन गरी माध्यामिक तहको असार १८ गते परीक्षा सञ्चालन गरीसकेको र साउनको २८ गते निम्न माध्यामिक तहको परीक्षा सञ्चालनको लागि तयारी गरीसकेको छ।
अनलाईन प्रणालीको अवस्थालाई हेर्ने हो भने अन्य निकायको भन्दा शिक्षक सेवा आयोगमा दरखास्त भर्नेहरुको चाप धरै छ । तर, दरखास्त दिनेहरुको संख्या अनुसार सेवा दिनका लागि धरै जनशक्ति चाहिनेमा एक जना कम्प्युटर अप्रेटरको भरमा कार्य सम्पादन भइरहेको छ । आयोगबाट सम्पादन गरीने कामहरु चुनौतिपूर्ण र संबेदनशिल भएकोले पनि जनशक्तिको अवस्था ज्यादै न्युन हुनुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसतर्फ ध्यन नदिएको देखिन्छ ।
पछिल्लो समय माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लागि करीब ७८ हजार दरखास्त दिएका थिए भने निम्न माध्यामिक तहमा करीब २ लाख ३० हजार भन्दा बढी उम्मेदवारले दरखास्त भरीसकेका छन् । यस्तो अवस्थामा जनशक्तिको अभावमा काम गर्न निकै अफ्ठेरो परेको केही कर्मचारीहरुको गुनासो गरेका छन् । उनीहरुले कार्यतालिका अनुसार काम गरिरहेपनि आफुहरुलाई प्रयाप्त जनशक्ति नभएको कारण सकस भएको र समयमै काम सक्न गाह्रो भइरहेको बताए ।
अर्को तर्फ शिक्षक सेवा आयोग अनलाइन प्रणालिमा गइसकेपछि आयोगलाई चाहिने सर्भर पनि प्रायाप्त मात्रामा नभएकोले नतिजा प्रकाशन गर्दा, विज्ञापन खुला गर्दा आवेदन दिने उम्मेदवारहरुले समस्या भोग्ने गरेका छन् । त्यसकारण पनि शिक्षक सेवा आयोग प्रतिको विस्वासलई कायम राखिराख्न सम्बन्धीत निकायले यसतर्फ समयमै सोच्नु पर्ने अवश्यकता देखिएको छ ।