काठमाडौँ- शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने समय थप गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै वेब सर्वरमा समस्या आएको भन्दै दुई दिन म्याद थप्ने निर्णय भएको जनाएको हो। आयोगको सूचना अनुसार सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ७ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९ असार १४ गतेसम्म तोकिएकोमा आयोगको अनलाइन एप्लिकेसनमा समस्या आएको हुँदा दुई दिन म्याद थप गरी सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ९ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९ असार १६ गतेसम्म बनाइएको छ ।
आयोगको वेब सर्वरमा असार ६ गते बिहान करिब १० बजेबाट प्राविधिक समस्या आएको आयोगको भनाइ छ। साथै थपिएको म्याद सकिएको भोलिपल्ट बैकिङ कारोबार हुने समयभित्र तोकिएको राजश्व दस्तुर रकम तोकिएको बैङ्कमा अनिवार्य रूपमा जम्मा गर्न पनि आवेदकलाई आयोगले आग्रह गरेको छ ।
