काठमाडौँ- चाबहिलमा रहेको टेक्सस इन्टरनेसनल कलेजले ‘टेक्सस म्यानेजमेन्ट एण्ड आइटी करियर फेयर’ सम्पन्न गरेको छ। शुक्रवार कलेजको सिफल ब्लकमा आयोजित एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई उनीहरूको करियरको सुरुवाती कामका लागि विभिन्न प्रसिद्ध कम्पनी सँग जोड्दै कलेजले करियर फेयर सम्पन्न गरेको हो।
विद्यार्थीलाई पढाउने मात्रै नभई उनीहरूलाई योग्य, दक्ष र क्षमतावान् बनाई विश्व बजारमा बिक्ने जनशक्ति बनाउनुपर्छ भन्ने मान्यता राख्ने टेक्सस कलेजले सोही उद्देश्य पूर्तिका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ। विगत देखि नै गर्दै आएको कार्यक्रम भएपनि कोरोनाका कारण गत दुई वर्ष यो कार्यक्रम स्थगित भएको थियो। कार्यक्रमको तेस्रो संस्करण शुक्रवार सम्पन्न भएको हो।
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै टेक्सस इन्टरनेसनल कलेजका प्रिन्सिपल भेस राज पोखरेलले जीवनको पहिलो अन्तर्वार्ता दिन लागेका विद्यार्थीलाई शुभकामना दिए। यस्ता कार्यक्रमले आफ्ना विद्यार्थीहरूको वास्तविक स्तर मापन गर्न कलेजलाई पनि सहज हुने भन्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने जनाए।
त्यस्तै कलेजका एकेडेमिक हेड तथा त्रिवि व्यवस्थापन संकायका पुर्व डिन गोविन्द प्रसाद आचार्यले आफ्नै कलेजमा विभिन्न कम्पनीहरू आएर जागिर दिन्छु भन्नु विद्यार्थीहरूका लागि सुनौलो अवसर भएको बताए। उनले विद्यार्थीहरूलाई आफ्नो रुचि र कम्पनीको उद्देश्य मिल्ने कम्पनी छानेर अन्तर्वार्ता दिन सुझाव दिए। टेक्ससले यस्ता कार्यक्रम गर्दा विद्यार्थीहरूले आफ्नो क्षमता देखाएको र संसारलाई कलेजले के दिन सक्छ भन्ने देखाएको हुँदा यस्ता कार्यक्रम नियमित राखिने उनको भनाइ थियो।
कार्यक्रममा कलेजले फोर्ब्स पत्रिकाले सूचीकरण गरेको सुचीमा ३० वर्ष मुनिका उद्यमीहरूको सुचीमा पर्न सफल उद्यमीहरूलाई सम्मान समेत गरेको थियो। ‘अफारिंग ह्याप्पिनेसका’ निरज काफ्ले र ‘बेदा एपका’ सुजित पाठकलाई उक्त अवसरमा सम्मान गरिएको थियो। यी दुई वक्ता सहित काठमाडौँ महानगर वडा न ७ का नवनिर्वाचित अध्यक्ष विमल कुमार होडाले समेत आफ्नो मन्तव्य राखेका थिए। सबै वक्ताहरूको साझा भनाई यस्ता कार्यक्रमहरूले देशमै केही गर्ने अवसर मिल्ने भएकाले आफ्नै माटोमा केही नवीन काम गर्ने सोच्नुपर्छ भन्ने थियो। उनीहरूले आफ्नो जीवनको आगामी पाँच वर्ष सिकाइमा लगाउन र त्यसपछि प्राप्त ज्ञान, सीपका आधारमा अघि बढ्न समेत सुझाएका थिए।
कार्यक्रम समापन गर्दै टेक्सस इन्टरनेसनल स्कुलका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले टेक्ससले विद्यार्थीको हितका लागि यस्ता कार्यक्रम निरन्तर गर्दै आएको स्मरण गराए। अन्तर्वार्ता दिने र आफूलाई प्रस्तुत गर्ने शैली सिकाउनका लागि कार्यक्रम राखिएको भन्दै उनले धेरै भन्दा धेरै विद्यार्थीले कार्यक्रम पश्चात् आफ्नो पहिलो जागिर त्यहीँ बाट पाउने विश्वास व्यक्त गरे। उनले सहभागी सबै कम्पनीहरूलाई धन्यवाद समेत दिए।
नेपालका प्रसिद्ध २६ ओटा कम्पनीहरूले स्टल राखेर कलेज परिसरमै विद्यार्थीहरूको अन्तर्वार्ता गरेका थिए। उनीहरूले आफूलाई चित्त बुझ्दो विद्यार्थीलाई कामको
प्रस्ताव समेत गरेका थिए।
फोटो फिचर हेर्न यहाँ क्लिक गर्नुहोस्