काठमाडौँ- नेपाल सरकारले असार १ गतेदेखि दुई दिन बिदा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो व्यवस्था खारेज गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि अधिकांश स्थानीय तहले विद्यालयहरू भने आइतबार पनि सञ्चालन गर्ने निर्णय गर्दै आएका थिए । त्यसैगरी विश्वविद्यालयहरूले पनि शैक्षिक क्यालेन्डर प्रभावित हुने भन्दै सञ्चालनमा ल्याएका थिए ।
नेपालको विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सरकारले इन्धन खपत कम गर्न परीक्षणका लागि शनिबार र आइतबार दुई दिने बिदा दिने व्यवस्था लागू गरेको थियो । तर सो निर्णय प्रभावकारी नदेखिएपछि सरकार सो निर्णयबाट पछि हटेको हो । हिजोमात्र दुई दिन बिदा दिने निर्णय विरुद्ध अदालतमा रिटसमेत परेको थियो ।
अब सार्वजनिक बिदा साबिक झैँ शनिबार मात्रै हुनेछ।