काठमाडौँ- भक्तपुरमा रहेको कोविदा किड्स प्रि-स्कुलले वातावरण दिवस मनाएको छ। हरेक वर्ष जून ५ का दिन मनाइँदै आएको विश्व वातावरण दिवसको अवसरमा विद्यालयले आफ्नो वातावरणको महत्त्व बुझाउनका लागि साना बालबालिकाहरूलाई वृक्षारोपण तथा सरसफाइ कार्यमा सहभागी गराउँदै वातावरण दिवस मनाएको हो।
‘मात्र एक पृथ्वी’ भन्ने नारासहित यो वर्षको वातावरण दिवस मनाइएको हो। उक्त अवसरमा कोविदा किड्स प्रि-स्कुलले यो नारालाई सार्थक बनाउने गरी कार्यक्रम गरेको थियो। विश्वमा बढ्दै गइरहेको वातावरण प्रदूषणले बिग्रँदै गइरहेको पर्यावरणीय सन्तुलन र त्यसबाट मानिसलाई मात्रै नभई वन्यजन्तु र पशुपन्छीमा समेत पर्न गएको प्रतिकूल असरबारे आफ्ना बालबालिकाहरूलाई जानकारी गराइएको विद्यालय प्रशासनले जनाएको छ। त्यसका लागि विद्यालयले प्रि-१ र प्रि-२का बालबालिकाहरूलाई विद्यालय नजिकैको पार्कको भ्रमण गराई वृक्षारोपण गराएको थियो भने उक्त पार्कमा रहेको फोहोर सरसफाइ कार्यमा संलग्न गराएको थियो। त्यस्तै प्ले ग्रुप र नर्सरीका बालबालिकाहरूले विद्यालय प्राङ्गण सरसफाइ र प्राङ्गणभित्रै वृक्षारोपण गरी वातावरण दिवस भव्यताका साथ मनाएका थिए।
कार्यक्रम पछि मात्र एजुकेसन सँग कुरा गर्दै विद्यालयकी प्रधानाध्यापक सम्झना बस्नेतले आफू बाँचेको वातावरणको महत्त्व र यसलाई स्वच्छ स्वस्थ र हराभरा बनाउन खेल्नुपर्ने भूमिकाबारे जानकारी दिँदै सबैलाई जागरूक गराउन कार्यक्रम आयोजना गरिएको बताइन्। पृथ्वीलाई आमाको रूपमा पूजा गर्ने संस्कृति रहेको भन्दै उनले स्वच्छ वातावरण, सुन्दर र हरियाली पृथ्वी बनाएर प्रकृतिसँग सद्भाव कायम राखी स्वस्थ जीवनयापन गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु आजको मानव समुदायको उत्तरदायित्व भएको पनि उल्लेख गरिन्। स्वस्थ जीवन बाँच्नका लागि वातावरण स्वच्छ राख्नुपर्छ र यो हाम्रो जिम्मेवारी हो भन्ने सन्देश बालबालिकालाई दिन कार्यक्रम सफल भएको उनको भनाई थियो।
गुणस्तरीय शिक्षाका कारण परिचित कोविदा किड्स प्रि-स्कुल समय समयमा उसले गर्ने यस किसिमका अतिरिक्त क्रियाकलाप तथा कार्यक्रमहरूका कारण समेत अभिभावकहरू माझ लोकप्रिय छ।
