Matra Education आइतबार, साउन १० २०८३

शिक्षकको दरबन्दी थप गर्ने सहित यस्ता छन् सरकारका प्राथमिकतामा परेका शिक्षाका योजनाहरू

शिक्षकको दरबन्दी थप गर्ने सहित यस्ता छन् सरकारका प्राथमिकतामा परेका शिक्षाका योजनाहरू

  • मात्र एजुकेशन
  • मंगलबार, जेष्ठ १० २०७९


काठमाडौँ – सरकारले विज्ञान गणित शिक्षकको अभाव हुन नदिन शिक्षक दरबन्दी थप गर्ने घोषणा गरेको छ। मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन्। नीति तथा कार्यक्रममा सरकारले विद्यालय शिक्षामा सुधार गर्न विद्यालय क्षेत्र विकास योजना कार्यान्वयनमा ल्याउने समेत घोषणा गरेको छ। प्रविधियुक्त शिक्षालाई विकास गर्न भौतिक पूर्वाधार निर्माण गर्नका लागि यो योजना ल्याइएको हो।

त्यस्तै सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा सूचना प्रविधिको विस्तार गर्न इन्टरनेट सुविधा ५० प्रतिशत शुल्कमा उपलब्ध गराउने, गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्ने, विद्यालयको न्यूनतम पूर्वाधार कार्य सम्पन्न गर्ने, नमुना विद्यालयलाई सुविधासम्पन्न बनाउँदै सञ्चालनमा ल्याउने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिवर्तन गर्ने उल्लेख छ।

दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने, विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने, धार्मिक स्कुललाई दिँदै आएको अनुदानलाई विद्यार्थीको अनुपातका आधारमा वितरण गरिने, प्रदेश तहमा आवासीय विद्यालय स्थापना गरिने आदि पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

द्वन्द्वपीडित बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षालाई विस्तार गर्ने, पढ्दै कमाउँदै कार्यक्रमलाई विस्तार गर्दै लागू गर्ने सरकारको तयारी छ।

विश्वविद्यालयको समन्वयलाई प्रभावकारी बनाइनुका साथै राष्ट्रिय महत्त्वका आधारमा स्थापना हुने विश्वविद्यालयलाई प्राथमिकीकरण गर्ने, विश्वविद्यालयले अध्ययन अनुसन्धान गरेर सरकारलाई राय सल्लाह दिने वातावरणको विकास गर्ने, विश्वविद्यालयलाई रोजगारीको आधारमा मूल्याङ्कन गरेर अनुदान उपलब्ध गराउने, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षण हुने गरी शिक्षालयको स्थापना गर्ने, प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेजको स्थापना गर्ने वातावरण बनाउने, खेलकुद विश्वविद्यालयको स्थापना गर्ने लगायतका विषय सरकारको नीति तथा कार्यक्रममा उल्लेख छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड