काठमाडौँ- रामेछापमा क्रियाशील शिक्षकका पेसागत संस्थाहरूले निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। सोमबार एक ध्यानाकर्षण पत्र जारी गर्दै उनीहरूले निर्णय नसच्चाए कार्यक्षेत्र नजाने चेतावनी समेत दिएका छन्।
जिल्ला निर्वाचन कार्यालय रामेछापका कार्यालय प्रमुखलाई सम्बोधन गरेर लेखिएको पत्रमा निर्वाचनमा खटाइएका शिक्षक कर्मचारी व्यवस्थापनप्रति रामेछापमा क्रियाशील शिक्षकका पेसागत संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको र उक्त कर्मचारी व्यवस्थापनमा शिक्षकहरूको मान सम्मानमा आँच पुग्ने गरी जिम्मेवारी तोकिएको जनाइएको छ।
शिक्षकहरूको तहगत र श्रेणीगत स्तरलाई बेवास्ता गरी तोकिएको जिम्मेवारीले शिक्षकहरूको स्वाभिमान गिराएको र यसरी हठात् मनोबल गिराउने कार्यले शिक्षक समुदाय चिन्तित रहेको भन्दै उनीहरूले निर्णय सच्चाउन समेत माग गरेका छन्। यदि त्यसो नभएमा शिक्षकहरू कार्यक्षेत्र जान बाध्य नहुने र त्यसको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उल्लेख गरिएको छ।
