काठमाडौँ- शिक्षक सेवा आयोगले करिब पाँच वर्षपछि शिक्षक छनोटका लागि नयाँ पाठ्यक्रम निर्माण गरेर विसं २०७८ चैत्र १५ गते सम्पन्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि प्रथम पत्रको परीक्षा लियो । सो परीक्षाको नतिजा २०७९ वैशाख २० गते करिब एक महिनापछि प्रकाशन गर्यो । नतिजा प्रकाशनसँगै आयोगले सञ्चालन गरेको परीक्षाले धेरै विषयमा प्रश्न उब्जायो ।
आयोगले विभिन्न १४ विषयमा दरबन्दी माग सङ्ख्या १ हजार ५५२ कायम गरेर लिएको परीक्षामा ३२ हजार ०९७ जना परीक्षार्थीहरू समावेश भएका थिए । जसमध्ये ३ हजार ८८६ जना मात्र उत्तीर्ण हुन सके । यो नतिजा जम्मा १२ प्रतिशत मात्र हो ।
यसरी कमजोर नतिजा प्रकाशित भएकोमा विभिन्न दृस्टिकोणहरु सार्वजनिक भइरहेको छ। खासगरी सामाजिक सञ्जाल अहिले यो विषयले तातेको छ। माविको थोरै प्रतिशत उत्तीर्ण हुँदा त्यसतै नतिजा निमावि र प्राविमा नआउला भन्न नसकिने विश्लेषणहरू हुन थालेका छन्।
यही विषय बारम्बार उठेपछि शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले यसबारे प्रतिक्रिया दिएका छन्। रेग्मीले यो किसिमको नतिजा आउनुमा परीक्षार्थीले कम मेहनत गर्नु र विश्वविद्यालयले पनि गतिलो नपढाउनु दुई वटा कारण देखेका छन्।
उनी भन्छन् ‘आयोगले परीक्षाको गुणस्तरमा सम्झौता नगर्दा धेरै परीक्षार्थी असफल भएका हुन् । पूर्णाङ्कको ५० प्रतिशत अङ्क ल्याए पास हुने व्यवस्था गरिएको थियो । परीक्षार्थीले परीक्षाको तयारी राम्रो गरेनन् । विश्वविद्यालयले पनि राम्रो पढाउन सकेको रहेनछ जस्तो लाग्यो । आयोगले त परीक्षार्थी कमजोर छन् भनेर आफ्नो मापदण्डमा सम्झौता गर्ने कुरा भएन ।’
आयोगले गुणस्तरीय शिक्षाका लागि त्यही स्तरको शिक्षकहरू विद्यालयमा पठाउनुपर्ने भएको हुँदा आफ्नो मापदण्डमा कडाइ गरेको उनको आशय छ।