काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले आगामी जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ। सामान्यतया वैशाख महिनामा सञ्चालन हुँदै आएको परीक्षा केही वर्षयता कोभिडका कारण प्रभावित बन्दै आएको छ। यस वर्ष पनि कोर्स पुरा हुन समय लागेको भन्दै एक महिनापछि परीक्षा गर्ने तयारी बोर्डले गरेको हो।
कोभिडका कारण शैक्षिक सत्र नै प्रभावित हुँदा परीक्षाको तयारी गर्ने लाखौँ विद्यार्थीहरू यतिबेला चिन्तामा छन्। त्यही समस्या समाधान गर्नका लागि राजधानीको शंखमुलमा रहेको एडुसफ्ट एकेडेमीले विद्यार्थीहरूलाई निःशुल्क भिडियो कक्षाको सुविधा दिने भएको छ।
मात्र एजुकेसन सँगको कुराकानीमा एडुसफ्टका को- फाउन्डर सुनिल क्षेत्री भन्छन्, “कक्षा १२ को परीक्षा तयारी गर्ने लाखौँ विद्यार्थीहरूको कोर्स पुरा नहुँदा यतिबेला समस्यामा छन्। हामीले त्यही समस्या समाधान गर्नका लागि बिना कुनै शुल्कको कक्षा दिन लागेका हौँ। छोटो समयमै प्रभावकारी तयारी गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना ल्याएका हौँ”। उनका अनुसार विद्यार्थीहरूले कक्षा लिनका लागि दिइएको लिङ्कमा क्लिक गरेर रजिस्टर गर्नुपर्छ। रजिस्टर गरेका सबै विद्यार्थीको मोबाइल नम्बरमा कम्पनीले जुम आइडी र पासवर्ड पठाउनेछ। त्यही विवरणहरू प्रयोग गरेर विद्यार्थीहरू कक्षामा जोडिन सक्छन्।
एडुसफ्ट एकेडेमीले कक्षा १२ मा बढी कठिन भनिएका विषयहरूको तयारी गराउने जनाएको छ। पहिलो चरणमा उसले अनिवार्य अङ्ग्रेजी, कम्प्युटर, लेखा, अर्थशास्त्र, गणित लगायतका विषय तयारी गराउनेछ। त्यस्तै आवश्यकता अनुसार अरू विषयहरू पनि थप्दै जाने योजना छ।
एडुसफ्ट एकेडेमी नेपालको चर्चित इलर्निङ्ग प्लेटफर्म हो जसले विभिन्न विषयमा गुणस्तरीय भिडियो कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ।
निःशुल्क कक्षामा रजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस्। एडुसफ्ट एकेडेमीको फेसबुक पेज सँग जोडिन यहाँ क्लिक गर्नुहोस् र यो कम्पनीको बारेमा मात्र एजुकेसनले तयार पारेको सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्