काठमाडौँ- मण्डिखाटारमा रहेको राइजिङ स्टार बोर्डिङ स्कुलले चौंथो वार्षिकोत्सव सम्पन्न गरेको छ । बुधबार राजधानीको सुकेधारास्थित युनिभर्सल क्याफेको हलमा आयोजित एक कार्यक्रमका बिच चौंथो वार्षिकोत्सव सम्पन्न भएको हो । राइजिङ स्टार बोर्डिङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रमणि दाहालको अध्यक्षता र बाल साहित्यकार लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम मार्फत राइजिङ स्टार आफ्नो गुणस्तरको परिचय दिन सफल भएको छ । कक्षा ४ कि अनुज्ञा पोखरेलले दिएको दमदार स्वागत मन्तव्य र दिनभर विद्यार्थीहरूले देखाएको सिर्जनात्मक प्रस्तुतिले त्यसको प्रतिनिधित्व गरेको थियो । स्वागत मन्तव्य दिँदै कक्षा ४ कि छात्रा पोखरेलले अभिभावक सामान्य शब्द सुनिए पनि आफू जस्ता बालबालिकाहरूका लागि त्यसको ठुलो महत्त्व रहेको बताइन् । आफ्नो अस्तित्वको लागि आफ्ना अभिभावकलाई धन्यवाद दिएकी उनले आफ्नो जीवनमा शिक्षक शिक्षिकाहरूको उति नै महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । यो सँगै उनको अङ्ग्रेजी भाषाको स्तर पनि कक्षा ४ को सामान्य विद्यार्थी भन्दा निकै माथिल्लो तहको देखिन्थ्यो ।
कार्यक्रममा बोल्दै राइजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण कुमार बोहराले आफूले कल्पना गरे अनुसारकै सानो चिटिक्कको प्राइमरी र प्रि स्कुल बनाएको बताए। बालबालिकाहरूको शैक्षिक सँगै सर्वपक्षीय विकासका लागि २४ सै घण्टा खटिइरहेको भन्दै उनले ठुला विज्ञापन गर्नुभन्दा पनि आफ्नो गुणस्तर नै बोलोस् भन्ने आफ्नो चाहना रहेको बताए। आफ्नो विद्यालय छोडेर कुनै अर्को विद्यालय जाँदा एउटा विद्यार्थी हरेक क्षेत्रमा लिडर बनोस् र सानैमा व्यावसायिक बन्दै आम अभिभावकले कल्पना गरेको भन्दा फरक क्षमता सहित प्रस्तुत होस् भन्ने विद्यालयको उद्देश्य रहेको उनको भनाइ थियो। ठुलो पैसा र अन्तर्राष्ट्रिय फ्रेन्चाइजले नदिने त्यो किसिमको गुणस्तरका लागि आफ्नो विद्यालयका शिक्षक शिक्षिकाहरूको कक्षा भित्रको मेहनत र लगावको भूमिका रहेको समेत उनले बताए ।
बोहराले भनेकै कुराको प्रतिविम्ब उनका विद्यार्थीले कार्यक्रममा देखाएका थिए। कक्षा ४ र त्यो भन्दा मुनिका विद्यार्थीहरूको प्रस्तुति हेर्दा कुनै व्यवसायिक कलाकारको प्रस्तुति हेरेजस्तो लाग्थ्यो। साना बालबालिकाको गायन तथा नृत्यको उत्कृष्ट समायोजन राखिएको कार्यक्रममा बालबालिकाकै उत्कृष्ट मन्तव्य अर्को हेर्नलायक प्रस्तुति थियो। त्यस्तै कलिला बालबालिकाले आफैँ बाध्य वादन सामग्री बजाएर दिएको प्रस्तुतिले उपस्थित जो कोहीलाई पनि सजिलै लोभ्याउन सक्थ्यो । बालबालिकाकै अभिनयमा राइजिङ स्टारले प्रस्तुत गरेको सन्देशमूलक नाटक पनि कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको थियो। नाटक मार्फत मोबाइल लगायतका डिभाइसहरूले पारेको प्रभाव देखाउन खोजिएको थियो। फेसन सम्बन्धी ज्ञान दिनका लागि विद्यालयले बालबालिकाहरूको ‘फेसन सो’ पनि कार्यक्रममा समावेश गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले अब कला हेर्नका लागि विदेशी च्यानलहरू हेर्नुपर्ने जरुरी नभएको महसुस आफूले गरेको बताइन् । बालबालिकाहरूको प्रस्तुति हेरेर नेपालमै त्यो तहका प्रतिभाहरू तयार छन् भन्ने आफूलाई लागेको उनको भनाइ थियो । साना नानीबाबुहरू नाचेको देखेर शरीरले नदिए पनि आफ्नो मन छमछमी नाचेको भन्दै उनले हरेक विधामा प्रतिभाशाली विद्यार्थीहरू देखेको बताइन् । नृत्यका लागि सबै गीतहरू नेपाली बजाइनुले कहीँ न कहीँ नेपाली भाषा साहित्यको जगेर्नामा टेवा पुर्याएको उनले उल्लेख गरिन् । उनले आफू आबद्ध संस्थाले दिने बनिता जनेश्वरी बाल प्रतिभा पुरस्कार कार्यक्रममा प्रस्तुत ‘कठपुतली’ नामक नृत्यका सर्जकलाई र विद्यार्थीलाई दिने घोषणा गरिन् ।
कार्यक्रमका अध्यक्ष इन्द्रमणी दाहालले उपस्थित सबैलाई धन्यवाद दिए । देखाउनु पर्ने जति स्टेजमै देखाइसकेको हुँदा धेरै बोल्नु जरुरी नभएको भन्दै उनले पुरस्कारले हौसला थपेको बताए । पुरस्कार पाउँदा आफूहरूले सही काम गरेका रहेछौँ भन्ने महसुस भएको भन्दै उनले आगामी दिनमा अझै राम्रो गर्दै जाने प्रतिबद्धता सहित कार्यक्रम अन्त्य गरे।
तपाईँ यहाँ क्लिक गरेर उक्त कार्यक्रमको फोटो फिचर हेर्न सक्नुहुन्छ।