काठमाडौँ- अक्सर मानिसलाई केही फरक गर्ने सोच आइरहेको हुन्छ तर बनाएका योजनाहरूले कार्यान्वयनको बाटो समाउन नसक्दा ती योजनाहरू विफल हुन्छन्। एक दार्शनिकको भनाइलाई आधार मान्ने हो भने कुनै पनि व्यवसायमा एक प्रतिशत भूमिका योजनाको हुन्छ भने त्यसको सफलताको लागि उनान्सय प्रतिशत योजना कार्यान्वयनको हुन्छ। आज मात्र एजुकेसनले तपाईँका लागि यहाँ प्रस्तुत गर्न लागेको सफलताको कथा त्यही एउटा सफल योजनाको कथा हो।
यो कथा त्यो विन्दुबाट सुरु हुन्छ जतिबेला उच्च शिक्षा हासिल गर्न भारत पुगेका चितवनका कृष्ण तिमल्सिनालाई त्यहाँ विकास भइरहेको प्रविधिमैत्री शिक्षा प्रणालीले आकर्षित गर्छ। शिक्षालाई प्रविधिसँग जोड्दै उन्नत स्तरको बनाउने त्यो गज्जबको तरिकाले उनी मोहित हुन्छन्। यसैक्रममा उनको भेट भारतका सिन्टु लहकरसँग हुन्छ। भारतमा शिक्षालाई प्रविधि सँग जोड्ने काममा लागिपरेका लहकर र आफ्नै देशको शिक्षा परिवर्तन गर्न सक्छु भन्ने विश्वास गर्ने तिमल्सिना बिच नेपालकै शिक्षा क्षेत्रमा केही गर्ने योजना बन्छ। यता नेपालमा कृष्णका अर्का साथी सुनिल क्षेत्री भर्खरै बिहे गरेर बसेका र भारत जाने तयारीमा हुन्छन्। उत्तिकै ज्ञान, उत्साह र ऊर्जा भएको एउटा साथी भारत पलायन हुनुहुँदैन भन्ने कृष्णलाई लाग्छ र त्यहीँ यी तिन बिच योजना बन्छ, एउटा गतिलो योजनाको साथ भविष्य देखिएको जोखिमपूर्ण काम गर्ने।
त्यसपछि प्रविधिमैत्री बन्न अनकनाइरहेको नेपाली शिक्षा प्रणालीमा यी तिन युवाले आशा र सम्भावनाको बिउ रोपेका हुन्। खासगरि दुर दराजमा गुणस्तरीय शिक्षाको पहुँच नपुगेको त्यही अवस्था अन्त्य गर्ने उद्देश्यका साथ एडुसफ्ट एकेडेमीको जन्म भएको हो। टाढा टाढा बाट लाखौँ रुपियाँ खर्च गरेर ५/६ महिनाको प्रतिस्पर्धी परीक्षा तयारी गर्न काठमाडौँ आउने नेपालीहरूलाई उनीहरूको समय र स्थान अनुकूलतामा कक्षा उपलब्ध गराउन एडुसफ्ट एकेडेमीको सुरुवात गरेको कृष्ण सम्झिन्छन्। यसरी कक्षा सुरु गर्दै गर्दा इन्टरनेट नभएका टाढा टाढाका गाउँहरूमा त्यो उपयुक्त नहुने देखेपछि उनीहरूले पेनड्राइभ लगायतका अफलाइन माध्यमबाट समेत कक्षा उपलब्ध गराउने काम गरेका छन्।

आज एडुसफ्ट एकेडेमी एउटा ब्रान्ड र उच्च गुणस्तरको कक्षाको विश्वासिलो पर्याय बनेको छ। यो सफलता भने यी तिन युवाहरूलाई त्यसै प्राप्त भएको होइन। हरेक कामका लागि उपयुक्त योजना, उचित काम, निरन्तरको मेहनत र लगनशीलता आवश्यक हुन्छ भन्ने सन्देश यी युवाहरूको सफलताले दिएको छ। सँगैका युवायुवतीहरू नेपाल छोडेर देश विदेशमा अवसर खोजिरहँदा यी युवाहरू नेपालमै केही गर्नुपर्छ भन्ने योजनामा थिए। पुँजीको समस्या जति थियो त्यति नै थिए अन्य चुनौती पनि। काम सुरु गरेको पहिलो दिन सम्झँदै सुनिल क्षेत्री भन्छन्, “त्यति बेला एडुसफ्ट एकेडेमी सस्टेन गराउन हामीलाई ठुलो चुनौती थियो। लगानी ठुलो नहुँदा स्टाफ राख्ने खर्च हामीसँग थिएन। त्यसैले हामी ३ भाइले आ-आफ्नो कार्य विभाजन गरेका थियौँ। अनलाइन कक्षाका लागि शिक्षकहरू लिन पुर्याउन जाने काम एकजनाले गर्दा तिनलाई चिया कफी र खाना खुवाउने अनि भाँडा सफा गर्ने काम अर्कोले गर्नुपर्थ्यो। त्यस्तै कक्षाकोठा र कार्यालय सफा गर्ने अनि स्टुडियो सेटपको काम गर्दै फोन रेस्पोण्ड गर्ने जिम्मेवारी तेस्रो व्यक्तिको हुन्थ्यो।” कामका लागि कहिल्यै पछि नहटेका यी युवाको जोसमा सुनिलकी श्रीमती राधा केसीको दरिलो साथ थियो। उनले सुरुवाती चरणमा कम्पनीका लागि लगानी जुटाउन सहयोग गरेकी थिइन्। त्यस्तै अग्र भागमा नदेखिएरै पनि उनले कम्पनीलाई विविध सहयोग गर्थिन्। लगानी होस् , अफिसमा तिनै जनालाई खाना बनाएर खुवाउने काम होस् वा अन्य कुनै, सबैमा श्रीमतीको दरिलो साथ रहेको सुनिल सम्झन्छन्।
सुरुवाती दिनमा असम्भव प्रायः लाग्ने काम बिस्तारै सफल हुँदै गएको हो। कोरोनाकाल भन्दा अगाडी अनलाइन कक्षा सँग त्यति परिचित हुन नसकेको नेपाली समाज त्यसपछि बिस्तारै प्रविधिमैत्री बन्दै गएको छ। तर एडुसफ्टले कोरोना आघिनै शिक्षामा प्रविधि भित्राइसकेको थियो। चाहे स्मार्ट बोर्डको प्रयोगका सन्दर्भमा होस् वा स्तरीय भिडियो कक्षा निर्माणका सवालमा होस् एडुसफ्ट अगाडी नै थियो। त्यसैले कोभिड पछि अरू थुप्रै संस्थाहरू अवसर खोज्दै आएको भएपनि आफूहरू कोभिड अघिनै अवसर सिर्जना गर्नेतर्फ बढी केन्द्रित भएको एडुसफ्टका को-फाउन्डर कृष्ण बताउँछन्।
उच्च अनुभव भएका र विषयवस्तुमा पोख्त शिक्षकहरू मार्फत न्यूनतम शुल्कमा स्तरीय कक्षा त्यो पनि आफूले चाहेकै समयमा दिने योजनाका लागि यी तिन युवाले कम्ती सङ्घर्ष गरेका छैनन्। सुरुवाती दिनमा एकजना नाम चलेका शिक्षकलाई कक्षा लिनका लागि भेट्न जाँदा उनीहरू ३ घण्टासम्म कुनै इन्स्टिच्युटको पार्किङमा कुरेर बस्नुपरेको सुनिल बताउँछन्। त्यसबाहेक कतिपयले अनलाइन फारम भर्न नजान्ने त कतिपयले मोबाइल लगायतका डिभाइस छैन भन्ने समस्या पनि उनीहरूले नझेलेका होइनन्।
यस्ता चुनौती र समस्याहरूका बापजुत पनि सुरुवातमा राखिएको आइक्यु र अङ्ग्रेजीको भिडियोमा आएका प्रतिक्रियाहरूले उनीहरूलाई फुरुङ्ग बनायो र अझै काम गर्ने उत्साह थप्यो। कतिसम्म भने त्यो भिडियोमा भौतिक उपस्थितिको कक्षा भन्दा राम्रो भएको भन्दै अडियो र भिडियोओ गुणस्तरको समेत तारिफ भएपछि उनीहरू अझै राम्रो गर्ने तिर केन्द्रित भए। फलस्वरूप आज १ लाख भन्दा बढी युट्युब सब्स्क्राइबर प्राप्त गर्ने नेपालकै पहिलो एडुटेक कम्पनी बन्न एडुसफ्ट एकेडेमी सफल भएको छ। यस बिचमा एउटै भिडियो दश लाख भन्दा बढी पटक हेरिएको कीर्तिमान बनाउन समेत कम्पनी सफल भएको छ।

एडुसफ्टका को-फाउन्डर सिन्टु लहकर कम्पनीको सफलतामा आफूहरूको भातृत्वको सम्बन्धको ठुलो भूमिका रहेको बताउँछन्। दश वर्ष भन्दा बढीको मित्रता कम्पनीका रूपमा परिणत भएकाले त्यसले नै एडुसफ्टलाई बलियो बनाएको उनको धारणा छ। सुरुमा शैक्षिक सामग्रीको गुणस्तर र नेपालमा भिडियो कक्षा अवलम्बनमा आफूले चुनौती देखेको भए पनि हाल त्यो समाधान हुँदै गएको उनको भनाइ छ।
काठमाडौँ केन्द्रित अनुभवी प्रशिक्षकलाई देशका हरेक कुनामा पुर्याउन सकेको र वैकल्पिक शिक्षणमा इन्टरनेटको अवरोध हटाउन प्रयासरत रहेकाले आफूहरू एडुसफ्टको सफलताबाट सन्तुष्ट रहेको को-फाउन्डर क्षेत्रीको भनाइ छ। अझै पनि केही समस्याहरू समाधान गर्न बाँकी रहेकाले बिस्तारै माथि पुगिने उनी बताउँछन्। संसार जित्नेहरूले फरक काम गर्दैनन् बरु त्यही कामलाई फरक तरिकाले गर्छन् भन्ने भनाइसँग सहमत आफ्नो टिमले त्यसैको अवलम्बन गरिरहेको उनको जिकिर छ।
अफलाइन कोर्सको पहुँच ठाउँ ठाउँमा समयमै पुर्याउन, अनुभवी र राम्रा शिक्षकहरू पाउन, आवश्यक लगानी जुटाउन आदि समस्या समाधान गर्न सके एडुसफ्ट जस्ता आइडियाहरू सफल बनाउन सकिने लहकरको भनाइ छ। अझ प्रस्ट पार्दै कृष्ण थप्छन्, “तपाईंको उद्देश्य निश्चित र सफा हुनुपर्छ। त्यस्तै उपयुक्त ऊर्जा र उपाय मिलाउन सक्नु नै सफल हुने पहिलो पाइला हो।” आफूले एडुसफ्टको भविष्य पनि उज्ज्वल देखेको उनको भनाइ छ।
हाल लोकसेवा, शिक्षक सेवा लगायतका प्रतिस्पर्धी परीक्षाको तयारी गरिरहेका परीक्षार्थीहरूको सारथि बनिरहेको एडुसफ्टले धेरैको सुन्दर भविष्यको मार्गचित्र कोर्न सहयोग गरेको छ। शून्य बाट सुरु गरेर उच्च सफलताको बाटोतिर लम्कँदै गरेको ३ युवाको सुन्दर सपना एडुसफ्ट एकेडेमीलाई मात्र एजुकेसनको धेरै शुभकामना।