Matra Education आइतबार, साउन १० २०८३

प्याबसन गोकर्णेश्वरको बधाई तथा सडक नाटक कार्यक्रम सम्पन्न

प्याबसन गोकर्णेश्वरको बधाई तथा सडक नाटक कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र १७ २०७८


काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को गोकर्णेश्वर नगर समितिले बधाई तथा सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार जोरपाटी स्थित पिस ब्याङ्केटमा आयोजित एक कार्यक्रमका बिच संस्थाले प्याब्सनका विभिन्न तहमा निर्वाचित पदाधिकारीलाई बधाई दिनुका साथै समसामयिक विषयमा सचेतनात्मक सडक नाटक प्रस्तुत गरेको हो ।

प्याबसन गोकर्णेश्वरका अध्यक्ष दुर्गानाथ शिवाकोटीको अध्यक्षता र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्याबसन गोकर्णेश्वरका सदस्य विद्यालयका प्रिन्सिपलहरू, प्याब्सनका विभिन्न तहका पदाधिकारीहरू, गोकर्णेश्वर नगरपालिका भित्रका जनप्रतिनिधिहरू सहित विभिन्न विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको बारेमा जानकारी दिँदै प्याबसन गोकर्णेश्वरका अध्यक्ष दुर्गानाथ शिवाकोटीले प्याब्सनका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै एकताको आधार अझै बलियो बनाउनका लागि कार्यक्रम आयोजना गरिएको बताए। नेपाली समाजमा देखिएका विद्यमान समस्याको बारेमा देखाइएको सडक नाटकले नेपाली समाजलाई परिपक्व बनाउन भूमिका खेल्ने विश्वास आफूले लिएको उनको भनाइ थियो । त्यस्तै प्याब्सन निजी शैक्षिक संस्थाहरूको छाता संगठन भए पनि यसले सरकारलाई सहयोग नै गर्ने उनले बताए। प्याब्सन गोकर्णेश्वर सदैव उक्त क्षेत्रका विद्यालयहरूको विकासका लागि क्रियाशील रहेको उनको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चालिसेले शिक्षा क्षेत्रको विकासका लागि प्याब्सनले खेलेको भूमिकाका लागि धन्यवाद दिए। कार्यक्रममा प्रस्तुत भएको सडक नाटकले आजको जमानाको वास्तविकता उजागर गरेको भन्दै यस्ता कार्यक्रम गरे सहयोग गर्नका लागि नगरपालिका सधैँ तयार रहेको उनको भनाइ थियो। दुरुपयोग बढ्दा आजको जमानामा मोबाइलबाट दुर्गन्ध उत्पन्न हुन थालेकाले यसको सही सदुपयोग मात्रै गर्ने तिर ध्यान दिन पनि उनले सबैलाई आग्रह गरे।

प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष कुमार घिमिरेले ब्यक्तिगत रूपमा आफू पहिलोचोटि प्याब्सनको नगर समितिले आयोजना गरेको कार्यक्रममा उपस्थिति भएको बताए। नगर कार्यसमितिले भव्य र व्यवस्थित कार्यक्रम गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तर जारी राख्न उनले सुझाव दिए। त्यस्तै स्थानीय सरकार सँग राख्नुपर्ने विषय संगठनले जोडदार रूपमा राख्नुपर्ने भन्दै आवश्यक परे केन्द्रीय समिति पनि सहयोगका लागि तयार रहेको बताए।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि कार्यक्रम आयोजना गरेकोमा प्याब्सन गोकर्णेश्वरलाई धन्यवाद दिए। त्यस्तै प्रस्तुत सडक नाटकले वर्तमान समयलाई प्रतिबिम्बित गरेको अधिकांश वक्ताको भनाइ थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको ‘छोयो छोयो’ शिर्षकको सडक नाटक गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्याब्सन गोकर्णेश्वरले तयार पारि प्रदर्शन गरेको थियो। प्रभाकर न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको नाटकले सामाजिक सञ्जाल तथा मोबाइल फोनको दुरुपयोगले हाम्रो दैनिक जीवनमा पार्न सक्ने असरलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूको अभिनय रहेको नाटकमा बाल कलाकार जस्तो देखिने नभई अनुभवी कलाकारको जस्तो जीवन्त अभिनयले पनि नाटकमा धेरैको मन जितेको थियो।

कार्यक्रम मार्फत प्याब्सन गोकर्णेश्वरले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका र गोकर्णेश्वर बाट प्याब्सनको नगर, जिल्ला, प्रदेश अनि केन्द्रमा निर्वाचित सदस्यहरूलाई सम्मान पनि गरेको थियो।

(तपाईं यहाँ क्लिक गरेर उक्त कार्यक्रमको फोटो फिचर हेर्न सक्नुहुन्छ)

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड